अब केन्द्रदेखि प्रदेशसम्म हाम्रो गठबन्धन सरकार बन्छ : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने बताएका छन्। गत पुस १० को गठबन्धन भत्काइएकोले अब चुनावकै बेलाको गठबन्धनबाट सबैतिर सरकार बन्ने थापाले बताए।

‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्‍छ,’ काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’

उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए।

‘दुई महिनापछि हामी एक ठाउँमा उभिएका छौं। यो हुनैपर्थ्यो। जे भएको छ राम्रो भएको छ तर अब हाम्रो अगाडिका बाटो सहज छैन। काम गर्नुपर्छ, काम गर्न सकिएन भने कसैलाई दोष दिने ठाउँ पनि बाँकी रहँदैन,’ उनले भने।

उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए।

‘माधव नेपालजीले चाहनुभएको भए राष्ट्रपति हुन जान सक्नुहुन्थ्यो तर जानुभएन,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पुस १० कै गठबन्धन बलियो बनाएको भए धेरै वर्ष प्रधानमन्त्री हुन पाउनु हुन्थ्यो तर राष्ट्रपति कांग्रेसलाई समर्थन दिएर यतै आउनुभयो।’

चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुका पछाडि केपी शर्मा ओलीले संसदमा दिएका अभिव्यक्ति रहेको पनि थापा बताउँछन्।

‘संसदको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभयो तर कुनै तीतो सन्दर्भ उठाउनुभएन। त्यसपछि बोल्‍नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका घटना सही थिए र पटकपटक हुन्छ भन्ने कुरा राखेकोले पुस १० को गठबन्धन टिक्दैन भनेर राजनीतिक सोच सबैमा आएको हो,’ उनले भने।

उनले ८ दलीय गठबन्धनभित्र जे सहमति भएको छ त्यो पालना गर्नुपर्ने र विभिन्न बैठकहरू अब आवश्यक नपर्ने पनि बताएका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार