त्रिशूली थ्री बीको आयोजनास्थल पुगेर जंगिए कुलमान, थर्काए ठेकेदार



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रायः शनिबार र अन्य सार्वजनिक विदाको दिन निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किन्छन् । यही क्रममा कार्यकारी निर्देशक घिसिङ उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेलाई लिएर गत शनिबार जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनास्थल पुगे ।

काठमाडौं उपत्यकाको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि महत्वपूर्ण मानिएको आयोजनाको निर्माण करिब ४ महिनादेखि ठप्प छ । करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा सबैतर्फबाट काम हुनु पर्नेमा ठप्प रहेपछि घिसिङ आफैं आयोजनास्थल पुगेका हुन् ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी ) मोडेलमा आयोजना निर्माणका चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपले आफ्नो व्यवस्थापन परिवर्तन भएको कारण देखाउँदै काम ठप्प परेका थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा सञ्चालन गर्नुपर्ने छ ।

आयोजनास्थल पुग्नासाथ कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख आनन्द ढुङ्गेललाई ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाउन निर्देशन दिए । आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले बैठक राखेर आयोजनाको समस्याबारे प्रश्न राखे । ठेकदार कम्पनीका प्रतिनिधिले निर्माणमा आलटाल गरिरहने संकेत गरेपछि घिसिङ आक्रोशित भए । ठेकेदारलाई काम सुरु गर्न अझ केही महिना लाग्ने बताएपछि घिसिङले नसके काम छोडेर जानसक्ने बताए ।

घिसिङले निर्माण कहिले सकिन्छ ? किन अलमल गरेको ? पटक–पटक सोधे ‘देशभरिका जनताको लगानी भएको आयोजना हो, हामीले पछिल्लो पटक तोकिएको समयमा आयोजना सम्पन्न गरेनौं भने जनताले हामीलाई हिर्काउँछन्, यस्तो संवेदनशील आयोजना निर्माणमा ढिलाइ गर्ने, काम गर्न नसक्ने हो भने हात उठाएर गए हुन्छ,’ उनले भने,‘यही तरिका कायम रहने हो भने ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउँछौं ।’

आयोजनाको प्रबर्द्धन कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ ।

उनले चीनस्थित कम्पनीको मुख्यालयका प्रमुखसहितको बैठक तत्काल बोलाउन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए । साथै, आयोजना प्रमुखलाई ठेक्का सम्झौता रद्ध गर्न अब बाँकी गर्नु पर्ने कामकको मूल्यांकन गर्न निर्देशन पनि दिए ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार