गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : महामन्त्री शर्मा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् ।

झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शभकामना व्यक्त पुगेका थिए । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए ।

उनले महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए । उनले भने, ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ । कहीँ मानिसहरुको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ । र एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ । त्यसकारण अहिले म यहाँनिर महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई शुरु गर्नलाई पनि म आएको हो ।’

उनले थपे, ‘अब हामी दुई, तीन दिन भित्रमा देशभरीका साथीहरु सबै आ–आफ्नो क्षेत्रमा मतदाताहरुलाई सम्मान गर्ने, आभार प्रकट गर्ने कार्य गरिसकेर काठमाडौं उपस्थित हुन्छौँ । र उपस्थित भइसकेपछि यसलाई विधिवत, व्यवस्थित रुपमा परिणाममा पु¥याउने ढंगले सबै नेतृत्व पंक्तिलाई हाम्रा जो हुनुहुन्छ, सबै आदरणिय हुनुहुन्छ । सबै पाका नेताहरु जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ । लोकतन्त्रका लागि योगदान गर्नुभएको छ । उहाँहरु सबैलाई सम्मान गर्दै, उहाँहरु सबैको विश्वास लिएर, उहाँहरु सबैको समर्थन लिएर, उहाँहरु कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महशुस नगराइकन उहाँहरुले हाँकेर आएको देश र उहाँहरुले हाँकेर आएको काँग्रेसलाई अझ दृढताका साथ हाँक्ने भन्ने उद्देश्यका साथ छौँ ।’

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडि बढाउने बताए । उनले नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए । शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रश्तावक बनेर भएपनि अगाडी बढाउने उनको भनाइ छ ।

उनले भने, ‘मेरो प्रयत्न के रहन्छ भने प्रश्तावकको रुपमा शेरबहादुर देउवाको नाम लेख्नसक्ने परिस्थिति बनाउनु चाहीँ मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ । कतिपयले बहुमत पुग्छन् भनेर मलाई भन्नुहुन्छ । बहुमत भन्नेकुरा प्राविधिक कुरा हुनसक्छ । विवेक भन्ने कुरा समयलाई बुझेर विश्लेषण गर्नुपर्ने कुरा हुन्छ । त्यो विकेकले के भन्छ अहिले भन्दैगर्दा अब नेतृत्वलाई परिवर्तन गरेर जाउ, नेतृत्वलाई अब अगाडी सारेर जाउ । सबै सांसदलाई सोधेर छलफल गर्छौं । प्रश्तावक अग्रज नेता बस्ने कुरामै हामी लाग्छौँ । मेरो विश्वास हो । सर्वसहमतिमा पु¥याउन सकिएन, प्रस्तावक लेख्नुपर्दै गर्दा, उभिनुपर्दा म आफैँ प्रश्तावक बस्नेकुरा स्वभाविक छ । त्यो म गरेर उभिन्छु ।’

शर्मा झापाबाट काठमाडौं उत्रिनासाथ महामन्त्री थापा निवास रातोपुल पुगेर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । महामन्त्री थापाले पनि शर्मालाई बधाई तथा शुभकामना दिए । थापाका बुबाआमाले पनि शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार