अत्याधिक मतले जिताउनुभयो भने रामचन्द्र पौडेल प्रधानमन्त्री हुने सम्भावना छ: प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्याधिक मतले विजयी गराएमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन सकिने सम्भावना रहेको बताएका छन्।

पौडेल तनहुँ १ मा प्रतिनिधि सभा उम्मेदवार छन्। आज उक्त क्षेत्रमा भएको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले भने, ‘रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ, एकचोटी यो देशको कार्यकारीको ठाउँमा पुग्ने इच्छा छ। त्यसकारण तपाईंहरूले ढुक्कसँग उहाँलाई अत्याधिक मतले जिताउनुभयो भने त्यो सम्भावना बढ्यो-बढ्यो-बढ्यो।’

तर थौरै मतान्तरले जिताएमा प्रधानमन्त्रीमा अघि सार्न गाह्रो पर्ने प्रचण्डको भनाइ थियो। ‘यो अवसर गुम्न नदिनुहोला,’ उनले भने। प्रचण्ड गोरखा २ मा उम्मेदवार छन्। उनले आफू गोरखामा, पौडेल तनहुँमा र लमजुङमा देव गुरूङ चुनाव उठेकोले मिलेर यस क्षेत्रलाई एकीकृत ढंगले विकासको गति दिन सकिने बताए।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार