इन्टरपोलमार्फत नवलपुर प्रहरीले झिकायो दुवईबाट शंकास्पद व्यक्ति (घटनाक्रमसहित)
नवलपुर । विनयी त्रिवेणीका २१ महिने बालकको मृत्युको घटनाका विषयमा नवलपुर प्रहरीले इन्टरपोलमार्फत दुवईबाट एक व्यक्तिलाई नेपाल झिकाएको छ । घटनामा संलग्न रहेको आशंकामा उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
गत असार १५ गते विनयी त्रिवेणी ७ शिवपुरगढीका २१ महिनाका प्रजल थापा वेपत्ता भएका थिए । उनी हराएको खबरपछि दुवईमा रहेका झापा शिवसताक्षी गाउँपालिका वडा नम्बर ८ वैदार चोक बस्ने २२ वर्षिय सन्दिप खड्काले बच्चाको आमालाई बच्चा आफुले देखेको भन्दै सो वापत पैसा माग गर्दै म्यासेज गरेका थिए । बच्चा हराएको १० दिनपछि बच्चा मृत अवस्थामा फेला परेको थिए ।
घटनामा उनको संलग्नता रहेको आशंकामा इन्टरपोलमार्फत उनलाई दुवईबाट प्रहरीले नेपाल झिकाएको हो । पक्राउ परेका खड्का अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर रहेका छन् । उनलाई आज अदालतमा म्याद थपका लागि पेश गरिने प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताउनुभयो । यद्यपी आरोपित खड्काले उक्त घटनामा संलग्नता नरहेको बताउँदै आएको जनाईएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान चलिरहेको प्रहरी भनाई छ ।
यस्तो छ, घटनाक्रम
गत असार १५ गते झमझम पानी परिरहेको थियो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ शिवपुरगढीबाट सोही स्थान बस्ने २१ महिनाको प्रजल थापा घर अगाडी खेल्ने क्रममा हराएको खबर प्राप्त भयो । पानी परिरहेकोले घरअगाडी खोला समेत आएकोले स्थानीयले बगाएको समेत आशंका गरे । उक्त बालकलाई देखेमा खबर गरिदिन परिवारजनले आमाको मोबाइल नम्बर सहित सामाजिक सञ्जालमा सूचना जारी गरे ।
बालकको पत्तो लागेन । बालक हराएको दुई दिनपछि असार १७ गते ९८०८६८५६१६ नम्बरको ह्वाटस एपबाट बालकको आमा मन्नि थापाको ९८०३१३७८१३ नम्बरको ह्वाटस एपमा हेल्लो भनि म्यासेजको सुरु गरी तपाईको छोरालाई मेले देखेको छु भन्ने म्यासेज आयो । २/३ दिनसम्म केही कुराकानीपछि कुरा हुन छाड्यो । १० दिनपछि बालक मृत फेला परेका थिए । बालकको बाहिर चोटपटक भने केही थिएन । बालकको भिसेरा जाँचका लागि नमुना लिईएको छ । भिसेरा परीक्षणको रिपोर्ट आईसकेको छैन ।
सो ह्वाटस एपमा प्रभु बैंकको खातामा ५ लाख जम्मा गर्न भनि गरेको म्यासेजलाई आधार मानि प्रहरीले अनुसन्धान जारी राख्यो । सो क्रममा झापा शिवसताक्षी गाउँपालिका वडा नम्बर ८ वैदार चोक बस्ने २२ वर्षका सन्दिप खड्काले पठाएको अनुसन्धानमा खुल्न आयो । खड्का बैदेशिक रोजगारको लागि दुवई रहेकोले नेपाल प्रहरीको ईन्टरपोलको माध्यमबाट यहि कात्तिक ४ गते प्रकाउ गरी नेपाल झिकायो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कावासोतीमा रहेका छन् । उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भईरहेको छ । प्रेम क्षेत्री बिजय एफ एम