श्रमस्वीकृतिका सबै काम भैरहवाबाटै सुरु



श्रमस्वीकृतिका सबै काम भैरहवाबाटै सुरु

वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय स्थापना भएको ४ महिनापछि श्रमस्वीकृतिका सबै काम भैरहवाबाट सुरु भएको छ । यसअघि भैरहवास्थित यस कार्यालयबाट संंस्थागत तथा पुन: श्रमस्वीकृतिका काममात्रै हँुदै आएकोमा बिहीबारदेखि वैयक्तिक तथा नयाँ श्रमस्वीकृतिको कामसमेत सुरु भएको श्रम कार्यालयको भैरहवास्थित वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख एवं शाखा अधिकृत केशवराज भट्टराईले बताए ।

श्रमस्वीकृतिका सबै काम भैरहवाबाट सुरु गर्न ढिलाइ गरेका कारण यात्रु नपाएको गुनासोसहित जजिरा एयरले आफ्नो सेवा आधा कटौती गरेपछि बल्ल सेवा कार्यालय खुलेको हो । “अब सबै किसिमको श्रमस्वीकृति यो कार्यालयबाट सुरु भएको छ । श्रमस्वीकृतिकै लागि काठमाडांै जानुपर्ने बाध्यता हटेको छ,” शाखा प्रमुख भट्टराईले भने । उनका अनुसार अनलाइन पद्धतिमार्फत पहिलो दिन यूएई जान चाहेकी ईश्वरा कार्कीको नयाँ श्रमस्वीकृतिको काम भएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुका लागि सबै किसिमको श्रमस्वीकृति प्रदान गर्ने भन्दै भैरहवामा असार १ गतेबाट श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरी काम सुरु भए पनि संस्थागत तथा पुन: श्रमस्वीकृति दिने काममात्र हुँदै आएको थियो । मुख्य दुई किसिमका श्रमस्वीकृतिको कार्यसम्पादन भैरहवाबाट नहुँदा वैदेशिक रोजगारमा जान चाहनेले काठमाडांै जानुपर्ने बाध्यता थियो । अहिले वैयक्तिक तथा नयाँ श्रमस्वीकृतिको काम सुरु भएपछि श्रमकै कामका लागि काठमाडांै जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

श्रमको सबै काम हुने भएपछि अब चाप बढ्ने निश्चित भएको तर भौतिक पूर्वाधारको कमी र जनशक्ति अभाव भएकोले यसतर्फ पनि सबैको ध्यान जान जरुरी रहेको शाखा प्रमुख भट्टराईले बताए ।

“अब काम बढ्यो । नयाँ श्रमस्वीकृति लिने भनेको नयाँ जानेहरुले हो । काम बढे पनि पूर्वाधार उही पुरानै छ । कर्मचारी तत्काल थप गर्नुपर्छ, नत्र काममा ढिलाइ हुन्छ । सबै काम अनलाइनबाट गर्नुपर्ने भएकाले पनि अब पूर्वाधार, उपकरणसँगै दक्ष जनशक्ति तत्काल आवश्यक रहेको छ,” भट्टराईले भने ।

श्रमस्वीकृतिका सबै काम भैरहवाबाट हुने भएपछि नारायणी पश्चिमका वैदेशिक रोजगारमा जान चाहनेलाई लाभ पुग्ने र उनीहरु काठमाडांै धाउनुपर्ने बाध्यता अन्त्य भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । “गौतमबुद्ध विमानस्थल सुचारु भएको १ महिनामा यो कार्यालय स्थापना भयो । कार्यालय स्थापनाका लागि हामीले पनि धेरै लबिङ गर्‍यांै । सबै खाले काम भएका थिएनन्, अब सुरु भयो, राम्रो भयो । अन्य बाँकी काम पनि छिटै होस्,” अध्यक्ष न्यौपानेले भने । श्रमस्वीकृतिका लागि काठमाडांै जानु नपर्ने भए पनि स्वास्थ्य परीक्षण लगायतका कामका लागि काठमाडौं नै जानुपर्छ । साउदी अरब जानेका लागि गामा, तथा कतारको भिसा सेन्टरको शाखा पनि तत्काल खोल्न यस क्षेत्रका व्यवसायीको माग छ ।

यहाँको शाखाबाट लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुनेछ । यी प्रदेशका नागरिक वैदेशिक रोजगारीमा जाँदा त्रिभुवन विमानस्थल भन्दा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक पर्छ । उनीहरुले अब भैरहवामा स्थापना भएको शाखाबाट नै श्रमस्वीकृति लिएर विभिन्न मुलुकमा जान सक्नेछन् । यहाँबाट वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व श्रमस्वीकृति, अन्तिम श्रमस्वीकृति, व्यक्तिगत श्रमस्वीकृति प्रदान गरिने कार्यालयले जनाएको छ ।

सबैखाले श्रमस्वीकृति नभएपछि यात्रुहरु काठमाडांैबाट उडान थाल्दा भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरी अस्तित्व जोगाइराखेको जजिरा एयरवेजले दैनिक एक उडान घटाई साताको ३ दिन मात्र उडान गर्दै आएको छ । श्रमस्वीकृतिका सबै काम भैरहवाबाट नहुँदा वैदेशिक रोजगारमा जान चाहनेहरुले समस्या भोगिरहेको समाचार कारोबार दैनिकले प्रकाशित गरेको थियो । कार्यालय स्थापना भएपछि असोज मसान्तसम्म ७७० जनाले संस्थागत श्रमस्वीकृति तथा ३३ सय १ जनाले पुन: श्रमस्वीकृतिको सेवा लिइसकेका छन् ।

कारोबार डेली बाट

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार