मंसिर ४ गते हुनेमा एकै परिवारबाट चार जना उम्मेदवार बनेका छन्। जसमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सन्तानसहित दाजुभाइका छोराछोरी छन्।
थापाका छोरा कांग्रेस नेता सुनिलबहादुर थापा सत्तारुढ गठबन्धनबाट धनकुटामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनकी फुपु इन्दिरा थापा कांग्रेसबाटै समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार छिन्। इन्दिरा सूर्यबहादुरका बुवा टेकबहादुर थापाका दाजु वसन्तमान सिंह थापाकी छोरी हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका अध्यक्ष कुमार थापा पनि प्रतिनिधिसभा सदस्यकै लागि चुनावी
मैदानमा छन्। उनी सूर्यबहादुरका भाइ चकेन्द्रबहादुरका छोरा हुन्। उनी कुनै बेला काका सूर्यबहादुरका राजनीतिक सारथि थिए। उनै कुमार यसपटक काकाकै छोरा सुनिलबहादुरसँगै चुनावी मैदानमा छन्। सूर्यबहादुरका हजुरबुवा टेकबहादुरका भाइ कृष्णबहादुर थापाका नाति अर्जुन थापा पनि चुनावी मैदानमा छन्। जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख रहेका उनी प्रदेशसभा सदस्यतर्फ

समानुपातिक उम्मेदवार बनेका छन्। यससँगै गाउँकै पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। पाख्रिवास नगरपालिका–७ का बासिन्दा कांग्रेस नेता सुनिलबहादुर थापासँग ८ नम्बर वडाका बासिन्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई पनि चुनावी प्रतिस्पर्धामा छन्। संघीय संरचनाअन्तर्गत साविक मुगा गाविसलाई दुई वडामा विभाजन गरिएको हो।
उनीहरूबीच यसअघि दुईपटक चुनावी प्रतिस्पर्धा भएको थियो। जसमा उनीहरूले एक÷एक पटक बाजी मारेका थिए। यो पटक तेस्रो भिडन्त हो। यी दुई बीचको भिडन्त रोचक हुने विश्लेषण गरिएको छ।





