कतारबाट आयो यस्तो खबर : घर भाडाको बिषयमा यस्तो घोषणा..



कतारबाट आयो यस्तो खबर : घर भाडाको बिषयमा यस्तो घोषणा..

२०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता अर्को महिना कतारमा हुँदै छ । विश्वकपको ९२ वर्षे इतिहासमा पहिलोपटक नोभेम्बर–डिसेम्बरमा खेल आयोजना हुन लागेको हो ।

कतार विश्वकप मध्यपूर्वमा आयोजित सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हुनेछ । कोभिड–१९ पछि विश्वकै ठूला घटनामध्ये एक हुनेछ । २० नोभेम्बरबाट हुने प्रतियोगितामा कतारनिवासीले आफ्ना घर तथा कोठा भाडामा दिन सक्नेछन् ।

विश्वकपमा फुटबल प्रशंसकहरूलाई सुविधा दिन तथा आवासको चिन्ता घटाउन कतार सरकारले आफ्ना जनतालाई निजी घर तथा कोठा भाडामा दिन निर्णय गरेको हो ।

विश्वकपमा कतारले १० लाखभन्दा बढी आगन्तुकलाई स्वागत गर्ने अपेक्षा गरेको छ । प्रशंसक र पर्यटकहरूको अपेक्षित आगमनलाई कतारले आगन्तुकहरूलाई पर्याप्त आवास प्रदान गर्न नसक्ने चिन्ता बढिरहेका वेला घरधनीले आफ्ना घर तथा कोठा भाडामा दिन पाउने भएका हुन् । प्रतियोगिताका क्रममा दर्शकलाई सहज बनाउन पछिल्लो कदम चालिएको हो ।

अहिलेसम्म विश्वकपमा ‘टिकेट होल्डर’ले आधिकारिक कतार आवास एजेन्सी (क्युएए)मार्फत आवास बुक गर्न सक्षम हुनेछन् । विशेष समितिका महानिर्देशक यासिर अल जमालले फाइनल खेलाउने लुसेल रंगशालाको टिकट किनेका व्यक्तिले कतारी निवासमा बस्न पाउने बताएका छन् । विश्वकपको मिति नजिकिँदै जाँदा केही वासिन्दा भने आफूहरू घरबाट निष्कासित भएको गुनासो गरेका छन् ।

यसैबीच, विश्वकपको फाइनल हेर्न कतार जाने फुटबल प्रशंसकलाई एक रातको भिल्लाको भाडा ४२ हजार डलर शुल्क तोकिएको छ । बुकिङ डटकमका अनुसार दोहाबाट साढे चार किलोमिटरको दूरीमा रहेको उक्त भिल्लामा नौवटा बेड हुनेछन् ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार