
नेकपा मालेले वैशाख ८ गते सरकारले ल्याएको अध्यादेशले लाेकतान्त्रिक परिपाटी कमजोर हुने र राजनीतिक अस्थिरता बढ्ने भन्दै चिन्ता व्यक्त गरेको छ । केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यकाे बलमा नयाँ पार्टी खाेल्न सक्ने व्यवस्थाले वैदेशिक हस्तक्षेप बढ्ने भन्दै मालेले संवैधानिक परिषद सम्बन्धि अर्को अध्यादेशले सत्तारुढ पार्टीको निरंकुशता र सर्वसत्तावादी प्रवृत्ति उदांगाे भएको बताएको छ । काेराेना भाइरस विरुद्ध एक जुट भएर लड्ने समयमा घातक अध्यादेश ल्याइएको भन्दै मालेले अविलम्ब सबै अध्यादेश फिर्ता लिन माग गरेको छ । यसैबीच तत्कालीन निरंकुशताको विरुद्धमा पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको स्मरण गर्दै मालेले विश्व कम्युनिस्ट आन्दोलनका हस्ति भ्लादिमिर इलिच लेनिनको १५२ औं जन्मजयन्तिकाे समेत स्मरण गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन स्मरण गर्दै नेकपाकाे ७२ औं स्थापना दिवसको अवसरमा श्रमजीवी र सर्वहारा वर्गलाई नेकपा मालेले शुभकामना दिएको छ । नेकपा मालेका महासचिव सिपी मैनालीले मंगलबार एक विज्ञप्ति निकाल्दै नेकपाकाे स्थापना दिवसकाे सम्झना र सत्तारूढ पार्टीको सर्वसत्तावादी प्रवृत्तिकाे भण्डाफाेर गर्नुभएको हाे ।
प्रेस–वक्तब्य
नेकपाको ७२ औं स्थापना दिवस एवम् सरकारी विधेयक सम्वन्धमा१. हाम्रो मुलुकको तत्कालिन अवस्थामा विद्यमान जहानीयाँ राणा शासन, सामन्ती आर्थिक–सामाजिक सम्बन्ध र विस्तारवादी तथा साम्राज्यवादी शोषण–उत्पीडनलाई अन्त्य गरी नव प्रजातन्त्र अर्थात नयाँ जनवादी व्यवस्था स्थापना गर्दै समाजवाद र तदोपरान्त साम्यवादसम्म नेपाली समाजलाई लैजाने महान उद्देश्य लिएर कमरेड पुष्पलालले २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२) का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । अनेक आरोह–अवरोह पार गर्दै नेपालको कम्युनिष्ट आन्दोलनले ७१ वर्ष पुरा गरी ७२ औं वर्षमा प्रवेश गरेको छ । आन्दोलनमा उत्पन्न र प्रभावी भएका सैद्धान्तिक विचलन तथा विकृति–विसंगतिहरूलाई हटाउन यस अवधिको गम्भीर समीक्षा गरी नेपाली समाजका विशिष्टताहरू र नेपाली समाजको क्रान्तिकारी परिवर्तनको विशिष्टतालाई आत्मसात गर्दै नेपालमुखी माक्र्सवाद अर्थात् नेपाल चिन्तनको आधारमा नेपाली क्रान्तिलाई अघि बढाउने नवप्रवर्तनकारी सैद्धान्तिक–राजनीतिक मार्ग अवलम्वन गर्नु अपरिहार्य वनिसकेको छ ।
विश्व कम्युनिष्ट आन्दोनका नेता सर्वहारा समाजवाद निर्माणका प्रमुख अभियन्ता कमरेड भ्लादिमिर इलिच लेनिनको १५२ औं जन्म जयन्ती पनि यही दिन भएको अविष्मरणीय विषय बनेको छ ।
उपरोक्त प्रसङ्गमा हामी कमरेड लेनिनको महान योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै नेकपाको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल लगायत विश्वका समस्त सर्वहारा श्रमजिवीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।२. सरकारले बैशााख ८ गते राष्ट्रपतिबाट दुइवटा अध्यादेश जारी गराएर लोकतान्त्रिक परिपाटीलाई कमजोर वनाउने र देशमा राजनीतिक स्थिरताको जरो उखेल्ने काम गरेको छ ।
पहिलो, साविकको ऐंनमा ब्यवस्थितरहेको राजनीतिक दल विभाजित हुने प्रावधानहरूलाई संशोधन गदै पार्टी केन्द्रीय कमिटीको वा संसदीय दलको ४० प्रतिशत सदस्यको बलमा नयाँ पार्टी खोल्न सक्ने अध्याधेशले मुलुकमा राजनीतिक अस्थिरता तथा बैदेशिक चलखेल समेत बढ्ने र जनता तथा राष्ट्रका हित विरुद्ध थप गम्भीर सम्झौता हुने ढोका खोलेको छ । दोश्रो, संवैधानिक परिषद् सम्बन्धी अध्याधेशले सत्ताधारीहरूको निरंकुशता र सर्वसत्तावादलाई झन चर्को वनाउने छ ।
कोभिड–१९ को विश्वब्यापी महामारी विरुद्ध नेपाली भूमिमा सवैखाले देशभक्त राजनीतिक शक्तिहरूले एकतावद्ध संघर्ष गर्दै जनताको जिवन रक्षा र पराश्रित वनेको राष्ट्रिय अर्थतन्त्रलाई नयाँ दिशा दिनु पर्ने बेलामा यस्ता घातक अध्याधेशहरू ल्याउनु बेमौसमी बाजा बजाउनु मात्र नभई, घोर जनता तथा राष्ट्रविरोधी कार्य गर्नु समेत हो । यसको दृढ विरोध गर्दै हामी उपरोक्त अध्याधेशहरूलाई अविलम्व फिर्ता गरियोस् भन्ने माग गर्दछौं । धन्यवाद !वैशाख ९, २०७७, काठमाडौं ।
सीपी मैनाली
महासचिव, नेकपा (माले)