ओलीसँग रहन नसकिने भन्दै घनश्याम भुसालले छाडे एमाले



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले त्यागेको घाेषणा गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा भुसाललाई टिकट नदिएर राप्रपाका विक्रम पाण्डेलाई सहयाेग गर्ने भएपछि भुसालले पार्टी छाडेका हुन् । यससँगै एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालका लागि नेकपा (माओवादी केन्द्र)ले रुपन्देही क्षेत्र नम्बर १ को टिकट होल्ड गरेको छ ।

एमालेबाट टिकट नपाएका भुसाल माओवादीबाट गठबन्धनको सहयोगमा चुनाव लड्ने सम्भावना बढेको छ । ‘घनश्याम भुसालका लागि भनेर रुपन्देही– १ को टिकट हामीले होल्ड गरेका छौं,’ माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने ।

घनश्यामसँगै कुरा भएर टिकट होल्ड गरिएको ती नेताले बताए । यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट दिएको छैन । भुसालले आफ्नो घर रहेको रुपन्देही– १ बाट चुनाव लड्ने तरखर गरेका हुन् । रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

‘तत्काल पार्टी प्रवेश नगरे पनि माओवादीको हँसिया हथौडा अंकित चिह्नबाट चुनाव लड्ने लगभग निश्चित जस्तै हो,’ माओवादीका अर्का नेताले भने । चुनावपछि माधव नेपालको पार्टीसहित समाजवादी केन्द्र बनाउने गुरुयोजनाअन्तर्गत बौद्धिक नेतालाई समेट्न खोजिएको माओवादीका ती नेताले बताए ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार