छुट्टाछुट्टै अभ्यासमा हामी असफल भयौँ, अब बाबुरामसँग लामो सहकार्य हुन्छ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग पुनः लामो सहकार्य हुने बताएका छन् । माओवादी सशस्त्र द्वन्द्वदेखिका सहकर्मी डा. भट्टराई संविधानसभाबाट नयाँ संविधान बनेपछि २०७२ मा छुट्टिएका थिए ।

माओवादीबाट छुट्टिएर गएपछि डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अभ्यास गरेको र आफूले नेकपा एमालेसँग एकता गरेर अलग्गै अभ्यास गरेको तर दुवै जना व्यावहारिक हिसाबले असफल भएको प्रचण्डको भनाइ थियो ।

त्यसपछिका विभिन्न आरोहअवरोहको समीक्षा गर्दै प्रचण्डले छुट्टाछुट्टै गरिएका प्रयासमा दुवैजना असफल भएको बताए । अब पुनः डा. भट्टराईसँग लामो सहकार्य गर्न खोजेको प्रचण्डले बताए ।

आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले केवल चुनावी स्वार्थका लागि माथि बाबुरामसँग सहकार्य नगरेको बताए । उनले भने, ‘आगामी चुनावमा एउटै चुनाव चिह्न लिएर लड्ने निर्णय केवल चुनावका लागि मात्र गरिएको होइन । त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनका लागि हामीले लामो सहकार्य गर्नु छ ।’

उनले दुवै नेता एकै ठाउँमा हुँदा पुनः करोडौँ जनताको समर्थन जुटाउन सक्ने विश्वास समेत व्यक्त गरे ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा डा. भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रले एउटै चुनाव चिह्न (माओवादी केन्द्रको चुनाव चिह्न) मार्फत चुनाव लड्ने सहमति भएको थियो । सोही अनुसार दुवै पार्टी चुनावको तयारीमा छन् ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार