देशभरि सर्वत्र प्रचण्डको भर्त्सना एवं पुतला दहन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको छ ।

यहाँका बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावनामाथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको भन्दै देशभरि नै विभिन्न स्थानमा प्रचण्डको पुतला दहन गरिएको छ ।

उनले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर प्रथमतः हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनाको उपहास गरेका छन् । नेपालका सबै जातजातिले ढुङ्गा, माटो, रुख–बिरुवा, सू्र्य–चन्द्रमा आदिलाई पुज्ने गर्दछौँ । अतः प्रचण्डको अभिव्यक्ति यहाँका सबै प्रकृतिपूजक परम्परामाथि निर्मम प्रहार हो भन्दै नेपालगञ्जवासीले उनको पुतला दहन गरेका हुन् ।

यस्तै वीरगंजमा स्थानीय जनसमुदायले हिन्दू विरोधी प्रचण्डलाई कारवाही गरियोस् भन्ने मागसहितको प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । यहाँ पनि प्रचण्डको पुतलामा आगो सल्काउँदै उनको अभिव्यक्तिको विरोधमा चर्का नारा लगाइएका थिए ।

जनकपुरमा विरोध प्रदर्शनमा उत्रिएका समुदायले प्रचण्डको अभिव्यक्ति बारम्बार एउटै धर्मप्रति लक्षित रहेको बताउँदै, उनी इसाई अथवा मुसलमानबाट परिचालित हुनसक्ने आशंका समेत व्यक्त गरेका छन् । कथित राजनेता द्वारा पटक–पटक हिन्दूविरोधी वक्तव्य दिइनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको आम जनमानसको बुझाई छ ।

सर्लाहीमा विरोध प्रदर्शन तथा पुतला दहन गर्न उत्रिएका युवा जमातले आगामी चुनावमा प्रचण्डको नेतृत्वमा रहेको दललाई समेत यस अभिव्यक्तिले घात पुग्ने बताएका छन् ।सामाजिक सञ्जालमा समेत प्रचण्डको निकृष्ट टिप्पणीको चर्को विरोध भइरहेको छ ।

आफ्नोपनलाई सम्मान गर्नु, पूजा गर्नु चाहिँ अवैज्ञानिक र मार्क्स–लेनिन–माओको विचारको सिनोलाई बोकेर हत्या–हिंसा गर्दै हिँड्नु चाहिँ कुन आधारमा वैज्ञानिक भनी प्रश्न समेत उठिरहेको छ । आवश्यकता परे भैँसीको पूजा गर्न तम्तयार हुने प्रचण्डको द्वैध चरित्र र रुग्ण मानसिकताको समेत आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार