
काठमाडौं । गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा दिने लघुवित्त वित्तीय संस्थाको न्यूनतम ब्याजदर नै १५ प्रतिशत पुगेको छ । बजारमा तरलता अभावसँगै लागत बढेको भन्दै लघुवित्त संस्थाहरूले ऋणको ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमासम्म पुर्याएका हुन् ।
राष्ट्र बैंकले गतवर्षदेखि लघुवित्तले अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि लघुवित्तले न्यूनतम ब्याजदर नै माथिल्लो सीमामा पुर्याएका हुन् ।
राष्ट्र बैंकले प्रकाशित गरेको लघुवित्तहरूको ब्याजदरसम्बन्धी प्रतिवेदनमा खुद्रा कर्जा प्रवाह गर्ने ६१ लघुवित्तमध्ये ३५ ओटाको ब्याजदर १५ प्रतिशत पुगेको उल्लेख छ । यीबाहेकका संस्थामा पनि अधिकांशको न्यूनतम ब्याजदर १० प्रतिशतभन्दा माथि छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार