के अब सिंह र स्थापितले बालेनलाई उछिन्न सक्लान्



काठमाडौं । देशका ६ महानगरपालिकामध्ये ४ मा गठबन्धनका दलहरुको अग्रता कायमै छ । विराटनगरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला विजयी भइसकेका छन् ।

वीरगञ्जमा जसपाका राजेशमान सिंह जीतको नजिक पुगेका छन् । उनी झण्डै दोब्बर मतान्तरले अगाडि छन् । भरतपुरमा पनि रेनु दाहालले मतान्तर बढाएर जीत्ने निश्चितप्रायः भइसकेको छ । पोखरामा पनि नेकपा एसका धनराज आचार्य जीतको नजिक छन् । ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन जीत्ने निश्चितप्रायः भएको छ ।

तर, काठमाडौं महानगरपालिकामा अझै ९० हजार जति मत गन्न बाँकी छ । स्वतन्त्र उममेदवार बालेन साहले ४१ हजार कटाइसकेका छन् । मत यही अनुपातमा आउने हो भने उनले ६० हजार मत कटाएमा जीत्ने सम्भावना रहन्छ ।

काँग्रेसको गढ मानिएको वडाहरुमा मतदान हुँदा सृजना सिंहको मत बढ्न थालेको छ । तेस्रो स्थानमा रहेकी उनी शनिबारबाट दोस्रो स्थानमा उक्लिएकी छिन् । तर, बालेनसँग उनको मतान्तर १७ हजार माथि छ । यसकारण सृजनाले बालेनलाई उछिन्न सजिलो देखिदैन । तर, असम्भव भने छैन ।

नेकपा एमालेका केशव स्थापितको मत कम देखिनथालेको छ । एमालेको गढ मानिएको अधिकांश क्षेत्रको मतगणना भइसकेको छ । यसकारण स्थापित पछि पर्न थालेका छन् ।

अब गन्न बाँकी बुथहरुमा बालेनको मत निकै कम अनुपातमा आएर सृजनालाई बढी मत आउन थालेमा मात्र पासा पल्टनसक्छ । तर, स्थापितले पनि सृजनाकै अनुपातमा मत बढाउन थालेमा बालेनलाई फाइदा हुनसक्छ ।

चुनाव जित्न बालेनलाई २० हजार मत थपे पुग्ने देखिइसकेको छ । सृजना र केशवलाई भने ४० हजार मत थप्नुपर्ने हुनसक्छ । जुन सजिलो छैन । तर, दुवैले हार स्वीकारेका छैनन् । अझै ९० हजार जति मत गन्न बाँकी रहेकाले उनीहरु आशावादी छन् । तर, झीनो आशामात्र बाँकी छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार