भरतपुरमा ३१ हजार मत गन्न बाँकी, रेनु दाहाल फेरि मेयर बन्ने पक्का



भरतपुर । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छन्। दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएका छन्। अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेका छन्। भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार