बागी उम्मेदवार घिमिरे भन्छन् – म पद र पैसाको बार्गेनिङ गर्न उठेको हैन



ललितपुर । स्थानीय तहको निर्वाचनकाे मिति नजिकिँदै गएको छ । उम्मेदवारी मनाेनयन देखि अन्तिम नामावली प्रकाशनसम्मकाे काम सकिएको छ । यसैबीच गठबन्धन गरेर चुनावी मैदानमा हाेमिएकाे सत्ता पक्ष भने बागी उम्मेदवारले हैरान भएको छ ।

आसन्न स्थानीय निर्वाचनमा देशभर बागीकाे बिगबिगी देखिएको छ । खास गरि गठबन्धन प्रति असन्तुष्ट नेता कार्यकर्ताले पार्टीको निर्णय विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन कतिपयले पार्टीको दबाब र कतिपय आर्थिक लाभको आधारमा आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, बागी उम्मेदवारी दिएका बागमती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पदका उम्मेदवार हरिशरण घिमिरेले भने आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । माओवादी केन्द्रमा लामो समयदेखि क्रियाशील घिमिरे माओवादीबाट वडाध्यक्ष पदका प्रवल दाबेदार थिए । पार्टीको आन्तरिक बैठकमा आफ्नो दाबी प्रस्तुत गरेका घिमिरे पार्टीले विभेद गरेकाले आफुले बागी उम्मेदवारी दर्ता गरेको दाबी गर्छन् ।

बागमती गाउँपालिकामा गठबन्धन प्रति र पार्टीको उम्मेदवार प्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट बागी उठेका पालिका अध्यक्ष पदका उम्मेदवार विष्णु तिमल्सिनाले भने अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिए । अरुले त उम्मेदवारी फिर्ता लिए तपाईले किन फिर्ता लिनु भएन भन्ने प्रश्नमा घिमिरे भन्छन् – म अरु जस्तो पद र पैसाको बार्गेनिङका लागि बागी उठेको हैन जनताको दबाबका कारण उम्मेदवारी दिएको हुँ । मलाई पैसा र पावरमा किन्ने काेसिस गर्नु नै पार्टीको भूल हाे ।

यस्तै बागी उम्मेदवारी फिर्ता लिनेहरूकाे हिसाबकिताब जनताले गर्ने भन्दै घिमिरे भन्छन् अन्तिम समयसम्म मैदानमा टिक्न नसक्ने हुतिहराहरूले राजनीति नगरेकै बेस ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार