प्रचण्डका खास मान्छे रिझाउँदा ललितपुरमा गठबन्धन भत्कियो



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नाको संरक्षण गर्न जान्दछन् । उनले आफ्नालाई संरक्षण गर्ने भएकैले पार्टी संगठनमा बलियो पकड बनाएका छन् ।

प्रचण्डले छोरी रेनु दाहाललाई मात्र नभई भाई नारायण दाहालको पनि संरक्षण गरिसकेका छन् । आफूलाई अनवरत साथ दिनेलाई पनि प्रचण्डले संरक्षण गरेका छन् ।

ललितपुरमा प्रचण्डका खास मान्छे भनी चिनिएका शिव कट्टेलको संरक्षण गर्न नेकपा एकीकृत समाजवादी केन्द्रलाई किनारा लगाइएको छ । ललितपुरमा नेकपा एससँग काँग्रेस र माओवादी केन्द्रले तालमेल नगर्ने भएका छन् । यसको मुख्य कारण महालक्ष्मी नगरपालिका भएको छ ।

महालक्ष्मीमा नेकपा एसले मेयरको दाबी गरेको थियो । तर, त्यहाँ यसअघि शिव कट्टेल उठेर हारेका थिए । कट्टेलका लागि नेकपा एसलाई ललितपुरमा किनारा लगाइएको छ । जबकि ललितपुर नेकपा एसको बलियो पकड भएको क्षेत्रमध्ये हो ।

ललितपुरको महालक्ष्मीमा एसका उपमेयरसहित ३ वडाध्यक्ष छन् । क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जन र प्रदेश २ क का सांसद माधव पौडेल पनि एसमा छन् । तर, महालक्ष्मीमा नेकपा एसलाई पाखा लगाइएपछि तरङ्ग आएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार