स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको प्रचण्डको दाबी



कास्की । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दाबी गरेका छन् । आइतबार विहान पोखरामा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले जनता आफ्नो पार्टीको पक्षमा देखिएको उल्लेख गर्दै पहिलो बन्ने सम्भावना रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले विगतमा आफ्नो पार्टीलाई मत नदिएर गल्ती गरेको महसुस जनताले गरेको भन्दै स्थानीय तह निर्वाचनमा मतदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् । संविधान बचाउने, देश बचाउने, लोकतन्त्र बचाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने काम माओवादीबाटै सम्भव हुने भएकाले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न सहज हुने अध्यक्ष दाहालको तर्क थियो ।

त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा निर्वाचनमा जाने तयारीमा लागिएको पनि दोहो¥याए । अध्यक्ष दाहालले भनेका छन्, ‘अहिले जो निर्वाचनमा जाँदैछौं, २०७९ मा । देशभरीको सबै स्थितिलाई हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढि सकेका छौं । तपाईले हेर्नु भयो भने हाम्रो कार्यक्रममा जो उभार हामीले देखेका छौं ।’

एनले थप भनेका छन्, ‘त्यो उभार हेर्दा अब माओवादी नै रहेछ देश बचाउने, संविधान बचाउने पनि । लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि । माओवादी नै हो–यो देशको उत्पीडित क्षेत्र, जाति, लिंगका समूदायलाई हेर्ने पनि । विगतमा माओवादीलाई मत नदिएर गल्ती गरिएछ भन्ने रियलाईज पनि जनताले गरेका छन । मैले पछिल्लो समय तराईका विभिन्न ५ वटा जिल्लामा जो जनताको उभार देखेँ ।’

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै त्यस प्रक्रियामा सामेल हुन पनि सबैलाई आह्वान गरेका छन् । उनले जनतासँगको सम्बन्धलाई बलियो बनाएर निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ । त्यसकारण सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन, त्यसको तयारीमा लाग्न म सबैलाई अपील गर्न चाहन्छु । आफ्नै संगठनको बलमा निर्वाचनको तयारी गर्ने हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने हो ।’

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार