काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौतालाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा सङ्कट आउन सक्ने बताएका छन् ।
शुक्रवार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक सङ्कट आइपर्न सक्ने बताएका हुन् ।
एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रूपमा जोखिम र सङ्कट पैदा हुन सक्ने उनको तर्क थियो। अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिचकिचाउने उपाध्यक्ष पाण्डेले दाबी गरे । नेपालमा धेरै रेमिट्यान्स भित्रिने देशहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती देशहरूसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा सङ्कटमा फस्न सकिने तर्क राखे ।
उनले भने, ‘अहिले विश्व बैंक, दक्षिण एसियाली बैंकले नेपालले निश्चित सहयोग दिने गर्दछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । यसले हामीलाई विदेशी मुद्रामा आइपर्ने चापलाई केही न केही सन्तुलन गर्ने मद्दत गरिरहेको छ । यो सम्बन्ध ५५ अर्ब रुपैयाँको एमसीसी नलिने कुरासँग केही छैन । तर अमेरिकाले तिमीले लिएनौ, मैले दिन्नँ, अन्त बाँडिदिन्छु भनेर सहज रूपमा लिएर गयो भने प्रश्न छैन । तर नेपालजस्तो देशले मेरो पैसा नलिने भनेर अप्ठ्यारोमा पार्यो भने हामी जोखिम र सङ्कटतर्फ प्रवेश गर्छौँ । एमसीसीको कारण हेरेर अमेरिका हिँड्दैन । त्यसलाई आउनै पर्यो भने कारण नै हेर्दैन ।’
‘अफगानस्थान आउँदा पनि कारण हेरेको होइन, इराकमा जाँदा पनि कारण हेरेको थिएन । उसलाई जे लाग्छ, त्यो हेर्छ । हामीले अमेरिकाबाट झन्डै २५ अर्ब रुपैयाँ प्राप्त गर्छौँ । रोजगारीकै कुरा गर्दा कतारबाट सबैभन्दा धेरै रेमिट्यान्स आउँछ । दोस्रो मलेसियाबाट, तेस्रो साउदीबाट, चौथो अमेरिकाबाट र पाँचौँ यूएईबाट आउँछ । यसरी झन्डै १५ देशबाट हामीले मुख्य रूपमा रेमिट्यान्स प्राप्त गर्छौँ । यी सबै शक्तिहरू कुनै न कुनै रूपले ुग्लोबल पावर एक्सिसु मा अमेरिकासँग निकट अवस्थामा छन् । यसमा अरू देशलाई अमेरिकाले अलिकित पनि नेपालतर्फ निरुत्साहित गरिदियो भने हामी सङ्कटमा फस्छौँ । यो कुरामा हामी गम्भीर हुनुपर्छ । समय छ । समयमा नै हामीले परसम्म नेतृत्व क्षमता देखाउन सक्यौँ भने देशलाई लिएर जान सक्छौँ ।’
उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताए ।





