कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा



झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिष्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताएका छन् ।

उनले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताए। उनले नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जेजे दिन्छन् लिने तर अमेरिका र चीनको सैन्य रणनीतिमा कहिल्यै सामेल हुन नसक्ने विचार व्यक्त गरे।

आज झापाको मेचीनगर नगरपालिका–१० मा एमसीसीबारे बुझाउन आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा उनले स्कूल कलेज पढ्दादेखि अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने कम्युनिष्टहरु नै अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा रहेको आरोप लगाए।

‘चीन कम्युनिष्ट मुलुक भएका कारण उसले बिआरआइमार्फत दिएको ऋण स्वीकार्य हुने नेपालका कम्युनिष्टहरुलाई तर अमेरिकाले दिएको अनुदान स्वीकार्य भएन,’ उनले भने, ‘किनभने अमेरिका प्रजातान्त्रिक मुलुक हो अनि कम्युनिष्टहरुले विरोध गर्दछन् ।’ नेपाली कांग्रेसलाई अमेरिका प्रजातान्त्रिक मुलुक हो भनेर आदरभाव र चीन कम्युनिष्ट मुलुक हो भनेर कुनै वैरभाव नभएकोसमेत कार्यकर्तालाई बताए ।

शर्माले नेपाली कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताए। उनले आफ्नै कार्यकर्ताले एमसीसीको बारेमा नबोल्न र बोले चुनाव जित्न नसक्ने भन्दै सुझाव दिने गरेको सुनाए। एमसीसीको बुँदा बुँदा केलाउँदै उनले सडक र ट्रान्समिसन लाइन बनाउने कुरामा विवाद गर्न नहुने बताए । उनले नेपालको राजनीतिमा उग्रराष्ट्रवाद बेचिने गरेको बताउँदै कार्यकर्तालाई सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार