‘एमसीसीलाई पत्र लेख्ने देउवा र प्रचण्डलाई कारबाही गर्नुपर्छ’ : रावल



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता रावलले राष्ट्रको स्वाधीनतामाथि नै गम्भीर आँच आउने सम्झौता अनुमोदन गर्छौँ भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

आज सोमवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले यसबारे छानबिन गर्न पनि समितिसँग आग्रह गरे। उनले प्रतिनिधि सभामा विचाराधीन विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति समेत जनाए ।

नेता रावलले भने, ‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता एमसीसीमार्फत कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन् ? कुटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभीमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमुना हो यो । प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डजीले संयुक्त रूपमा लेखेको पत्र यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ ।एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौँ भन्ने कुरासमेत विदेशलाई भन्ने भनेपछि हाम्रो कुटनीतिक कता गयो ? यो एकदमै आपत्तिजनक छ । अरू देशमा यस्तो भयो भने छानबिन गरेर दण्डित हुनुपर्छ ।’

बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद् सुरु गराउने वातावरण बनाइदिन एमाले नेता रावलसँग आग्रह गरे । उनले एमसीसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि बताए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले एमसीसी जनमत सङ्ग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । उनले एमसीसीले देशको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरूलाई सचेत गराए । सांसद किरातीले एमसीसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरू रहेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार