एमसीसी संसद्मा लगिदै, मन्त्रीबाट टेबुल हुने



काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ ।

संसद्मा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् ।
मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । जसबाट अर्थमन्त्रीको ठाउँमा अन्य कुनै मन्त्रीले एमसीसी टेबुल गर्न बाधा पर्दैन ।

सभामुखको अनुमतिले संसद्मा एमसीसी टेबुल भएपछि मन्त्रीले वक्तव्य दिनुपर्छ । मन्त्रीले वक्तव्य दिएपछि अर्को कुनै बैठकमा एमसीसीबारे सामान्य छलफल गरियोस् भनी प्रस्ताव गरिन्छ । सामान्य छलफल समाप्त भएको १२० घण्टापछि संशोधन गर्न सकिने व्यवस्था छ । एमसीसीको हकमा संशोधन राख्न नमिल्ने अवस्था छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार