गोरखा । कांग्रेस महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन ।
कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिह्नबाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’ वैशाखमा स्थानीय चुनाव हुने उनले बताए ।
‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्म आमचुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनःस्थापना गर्दा भनेको पनि यही हो’, उनले भने । थापाले पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार गतिविधि गर्न निर्देशन दिए ।
प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार





