मकवानपुर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपा एमालेले चितवनको नारायणी किनारमा लोकतन्त्रण तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा नेता थापाले नारायणी किनारमा लोकतन्त्र तर्पण गरि पञ्चायत बोकेर फर्किएको एमालेमा निरंकुशता पलाएको र त्यस निरंकुशताले विद्रोही भीम रावललगायत सबै जल्ने टिप्पणी गरे ।
उनले भने, ‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन् ।’
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीका लागि मत माग्न उनी शुक्रबार हेटौंडा पुगेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा थापाले एमालेको १० औं महाधिवेशनले चितवनको नारायणी किनारमा लोकतन्त्र तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरे ।
काठमाडौं राजवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको चलिरहेको महाधिवेशनबारे पनि थापाले टिप्पणी गरेका छन् । थापाले राप्रपा महाधिवेशनले आफैँ विश्राम लिन खोजेको भन्दै राप्रपाले राजालाई जबर्जस्ती ल्याउन खोजेको बताए ।
उनले भने, ‘जनताको शक्ति र ताकतबाट र आफ्नो इच्छाले विश्राम गर्न गइबक्सेको महाराजालाई जबर्जस्ती ल्याउछु भन्दै भृकुटी मण्डपमा अधिवेशन चलिरहेको छ ।’ वितण्डा मच्चाउन आउने जो सुकैसँग काँग्रेसले लड्ने तागत राख्ने पनि थापाको भनाइ छ ।





