बैठकमै देउवाले गगन थापालाई भने: ‘बोल्न पाइँदैन’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादबारे बोल्दा समसामयिक विषयमा बोल्न पाइँदैन भन्दै रोक्ने प्रयास गरेका छन् ।केन्द्रीय समिति बैठकमा नेता गगन थापाले सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिबारे विषय उप्काउँदा देउवाले थापालाई रोक्ने प्रयास गरेका हुन् । ‘समसायिक विषयमा बोल्न पाइँदैन अहिले,’ देउवाले भनेका थिए ।

आफूलाई न्यायालय विवादमा सभापतिले रोक्न खोजे पनि थापाले बैठकमा धारणा भने राखेका छन् । सर्वोच्चमा देखापरेको विवाद समाधान नगर्ने हो भने महाधिवेशनसम्म कांग्रेसको परिस्थिति विथोलिने भएकाले यसप्रति उचित निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

‘सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनु पर्छ। तत्काल सामाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था विथोलिन्छ । हामी चुप लाग्न मिल्दैन,’ थापाले बैठकमा भनेका थिए, ‘महाधिवेशनका विवाद कायम छन् । यसमा गम्भीर हुनुपर्छ । सभापतिको ध्यान जानुपर्छ ।’

यस विषयमा प्रधानमन्त्री समेत रहेका सभापति देउवलाई कांग्रेसकै मन्त्रीहरूले ध्यानाकर्षण गराउँदा समेत उनले न्यायालयभित्रको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने भन्दै त्यहीँबाटै समाधान हुनुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार