काठमाडौं । भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण बाटो अँगालेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फेरि विवादास्पद राजनीतिक अभियानतर्फ लम्किएको छ । केन्द्रीय कमिटी बैठकबाट संघीय राजनीतिक प्रणालीले मुलुकको हित गर्न नसक्ने निष्कर्ष निकाल्दै चन्द समूहले जनमत संग्रहको मुद्दा अघि सारेको छ ।
संघीय प्रणालीअनुरूप स्थापित राजनीतिक संरचनामा जनप्रतिनिधिको पहिलो आवधिक कार्यकाल पूरा हुन लागेको बेला चन्द समूहले अघि सारेको ‘संघीय राजनीतिक प्रणालीविरुद्ध वैज्ञानिक समाजवाद’ मा जनमत संग्रहको मागलाई विश्लेषकहरूले भने असान्दर्भिक भनेर टिप्पणी गरेका छन् ।
दुई वर्षको प्रतिबन्धपछि सरकारसँग २०७७ फागुन २१ मा तीनबुँदे सम्झौता गरेर हिंसात्मक गतिविधि त्यागेयता चन्द समूह अलमलमै देखिएको थियो । माओवादी संसदीय राजनीतिमा सहभागी भएपछि सत्ता कब्जाका लागि विद्रोहको पदचाप पछ्याउने प्रयास असफल भइसकेको अवस्थामा अरू राजनीतिक दलका भन्दा फरक मुद्दा अघि सारेर जनतामाझ स्थापित गर्ने चुनौती चन्दसामु थियो ।
यही पृष्ठभूमिमा असोज १–५ मा तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय राजनीतिक प्रणालीविरुद्ध अघि बढ्ने निचोड निकालेको हो । बैठकले तयार गरेका वैज्ञानिक समाजवादका आधारबारे चन्द समूहले जिल्ला–जिल्लामा छलफल चलाउन थालेको छ ।
चन्दले राजनीतिक दस्ताबेजमा जनमत संग्रहका लागि माओवादी केन्द्रसँग मिलेर जान पनि तयार रहेको उल्लेख गरेका छन् । ‘हामी प्रचण्डलाई पनि भन्छौं– पार्टी ठूलो बनाउनका लागि होइन, जनमत संग्रहको बाटोबाट वैज्ञानिक समाजवादमा पुग्नका लागि हामी मिलेर जान तयार छौं,’ उनले उल्लेख गरेका छन्, ‘तर पार्टी सानो भयो भनेर मिलेर जाऔं भन्नुभएको हो भने त्यो सम्भव छैन ।
तपाईंहरू हामीलाई आफैंजस्तो बनाउन चाहनुहुन्छ रु हामीलाई त्यो मान्य छैन । चन्द समूहका नेता धर्मेन्द्र बाँस्तोलाले संघीय व्यवस्थालाई विस्थापित गर्न जनमत संग्रह जरुरी रहेको बताए । ‘कस्तो प्रकारको शासन सञ्चालन गर्ने भन्नेमा जनमत संग्रह गर्ने भनेका हौं । जनमत संग्रह राजनीतिक विधि हो । त्यसका लागि प्रगतिशील संयुक्त सरकार निर्माण गर्ने भनेका छौं,’ उनले भने । माओवादी केन्द्रका नेता एवं राजनीतिक विश्लेषक राम कार्कीले भने नेपालको राजनीति इतिहासमा जनमत संग्रहबाट व्यवस्था परिवर्तन नभएको उल्लेख गर्दै चन्द समूहमाथि नै प्रश्न तेर्स्याए ।
जनमत संग्रह केको बलमा गर्ने ? कसले गर्ने हो ?’ उनले भने, ‘त्यसका लागि ठूलो जनमत तयार भयो ? यो दबाब कसरी सिर्जना हुन्छ ? नेता बाँस्तोलाले भने वैज्ञानिक समाजवादी व्यवस्थाका लागि व्यापक अभियान चलाइने बताएका छन् ।यो संघीय व्यवस्था असफल भएको पुष्टि भइसकेका छ,’ उनले थपे, ‘जनमत संग्रहका लागि दबाब सिर्जना हुँदै छ । नेता कार्कीको बुझाइमा चन्द वैचारिक अलमलमा छन् । ‘पार्टी अलमल हुँदा राजनीति कार्यदिशा पनि अलमल पार्ने खालको हुन्छ । जनमत संग्रहबाट समाजवाद ल्याउने कुरा पानी मथेर नौनी निकाल्छु भनेजस्तै हो,’ उनले भने ।
चन्द पार्टीका अर्का नेता ओमप्रकाश पुनले संघीय व्यवस्था असफल भएको उल्लेख गर्दै जनमत संग्रहमा जान संसदीय पार्टी डराउनुको अर्थ समाजवाद नचाहेको भनेर बुझिने बताए । ‘आफ्नो शासन आफ्नो मतद्वारा रोज्न पाउनुपर्छ, यो वैज्ञानिक लोकतान्त्रिक अभ्यास हो,’ उनले भने, ‘संसदवादी दलहरू जनमत संग्रहमा जान डराउनुको अर्थ उनीहरूलाई शासन गुम्ने डर छ ।’
चन्द समूहले पूर्वपार्टी माओवादीलाई संसदीय राजनीतिमा लागेर ‘दलाल पुँजीवादी’ अर्थव्यवस्थाबाट फाइदा लिने दलका रूपमा परिभाषित गरेको छ । अर्को कम्युनिस्ट घटक एमालेलाई पनि उसले त्यही दृष्टिकोणले हेरेको छ भने कांग्रेसलाई जहिले पनि सत्ताका लागि केन्द्रित हुने पार्टी भनेर टिप्पणी गरेको छ ।
तर व्यक्तिगत हिसाबले हेर्दा भने ओली र चन्दको बिचमा निकै घनिष्ठ सम्बन्ध बिकाश हुदै गएको छ ओली प्रधानमन्त्री भएकै बेलामा उनि संग बार्ता गरि शान्ति पूर्ण राजनीतिमा आएकाले पनि अर्थ पूर्ण रुपमा हेरिने गरिएको छ। पछिल्लो समय बिल्पवले अगाडी सारेका कुराहरु र ओलीले दिने गरेका अभिव्यक्ति हेर्दा ओली र चन्द संगै सहकार्य गर्न तयार भएको बुझिन्छ।
खागगरी दलाल पुँजीवादी अर्थव्यवस्थाबाट पर्याप्त लाभ लिन र असीमित मुनाफा कुम्ल्याउन सक्षम नवधनाढ्य एवं अभिजात वर्ग पनि छन् । त्यस्ता पार्टीहरूमा मुख्यतः एमाले–माकेहरू पर्छन्,’ दस्ताबेजमा भनिएको छ, ‘कांग्रेसले सत्तालाई आफ्नो जीवनको सर्त ठान्छ र अन्तिम अवस्थासम्म सम्पूर्ण रूपले नहत्याएसम्म त्यसको रक्षा गर्न तम्सिन्छ ।’
कांग्रेस ‘माओवादी जनयुद्ध’ लाई समाप्त पार्न गणतन्त्रमा गएको विश्लेषण उसको छ । ‘विजयोन्मुख जनयुद्धलाई सिध्याउन सामन्ती र तथा नोकरशाही दलाल पुँजीवादले आफ्नो संरक्षक मानिने राजतन्त्रलाई बलि चढाएको थियो,’ दस्ताबेजमा उल्लेख छ ।





