‘त्यो धन्दा प्रेम आले गर्दैन’ भन्दै उफ्रिए पर्यटन मन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सरकारद्वारा सञ्चालित वायुसेवा निगमलाई धन्दाको अखडा नबनाउने बाचा गरेका छन् । मंगलबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाल एयरलाइन्सलाई सुकाउने धन्दा आफूले नगर्ने बाचा गर्दै एयरलाइन्सलाई उकासेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर, सेटिङ मिलाएर निजी एयरलाइन्सलाई चाहीँ रातारात करोडपति बनाउने । नेपाल एयरलाइन्सको ग्राउण्ड ल्याण्डिङलाई निजी स्वार्थका लागि अर्को कुनै कम्पनीलाई दिने त्यो धन्दा प्रेम आलेले गर्दैन । म त्यो पक्षमा छैन । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री आलेले आईकाओको कालो सूची ‘लिस्ट’मा रहेको एयरलाइन्स त्यसबाट हटेन भने पर्यटन भित्राउन नसकिने चिन्ता पनि व्यक्त गरे । र, उक्त कालो सूचीबाट हटाइनुपर्ने पनि उनको भनाइ छ । उनले भने, ‘आज हामीसँग दुईटा न्यारो बडी र दुईटा वाइडबडी । हामी आईकाओको ब्ल्याक लिस्टमा छौँ । त्यो ब्ल्याक लिस्ट हटेन भने पर्यटक कसरी ल्याउने रु एयरपोर्ट आएपछि पर्यटक छिछि भन्दै नाक थुन्न बाध्य हुन्छ । अब यी सबै कुरा सुधार गर्नुपर्ने आजको आवश्यकता हो ।’

मन्त्री आले मन्त्री बन्नुअघि निगममा कर्मचारीले तालाबन्दी गरेका थिए । कर्मचरीहरुले निगमलाई कम्पनीमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमको कार्यालयमा ताला लगाएका थिए । तर, पछि मन्त्री आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्मचारीहरुलाई निगम निजीकरण नगर्ने भन्दै सहमतिमा ल्याएका थिए ।

प्रेम आलेले आन्दोलनकर्मी कर्मचारीहरुको माग अनुसार निगममा नयाँ अध्यक्ष पनि नियुक्त गरेको बताए । क्याबिनेटले सोमबार युवराज अधिकारीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको छ । मन्त्री आलेले थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार