न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, २० लाखको हात खाली हुने पक्का !



काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड आज हुने भएको छ । उक्त आईपीओको प्री-अलोटमेन्ट मंगलबार सम्पन्न भएको थियो । क्यापिटलका अनुसार बोर्डको स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड हुने मिति निर्धारण गरिएको छ । न्यादी हाइड्रोपावको शेयर खरीदका लागि अन्तिम दिनसम्ममा २२ लाख ८२ हजार २७ जना आवेदकबाट २ करोड ७६ लाख १५ हजार ९२० कित्ता शेयर खरीदका लागि माग परेको छ ।

कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन संकलन गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने २० लाख ७२ हजार ७ सय बढी आवेदकको हात खाली हुनेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार