पहिलो दिनमै तेह्रथुम पावरको आईपीओमा मागभन्दा १० गुणा बढीको आवेदन, कतिले भरे ?



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको पहिलो दिनमा नै मागभन्दा धेरै आवेदन परेको छ । सिडिएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म ५ लाख ४६ हजार ३ सय ६८ जना आवेदकले ७४ लाख ३९ हजार ४ सय २० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ९.९९ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको हो । जसमध्ये ५५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिनेछ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार