काठमाडौं । नेकपा एमालेमा प्रभावशाली भनिएका दोस्रो पुस्ताका नेताहरू ओलीसँगै रहँदा नेपाल समूहमा खुलेका तेस्रो पुस्ताका नेताहरूले नेतृत्व विकासको अवसर पाएका छन्। दोस्रो पुस्ताका नेताहरू एमालेमै रहने निर्णय गरेपछि एकीकृत समाजवादीतिर खुलेका तेस्रो पुस्ताका नेताहरू उत्साहित देखिएका छन्।
एमालेका मध्यमार्गी १० जना स्थायी कमिटी सदस्यहरू ओलीले बोलाएको स्थायी कमिटीमा सहभागी भएपछि एकीकृत समाजवादीमा तेस्रो पुस्ताको नेतृत्वका लागि ढोका खुलेको हो। उनीहरू फागुन २३ गते एमाले ब्युतिएपछि पहिलोपटक ओलीको अध्यक्षतामा बस्ने बैठकमा सहभागी भएका हुन्। माधव नेपालको पक्षमा उभिएर दोस्रो पुस्ताले अन्तिममा धोका दिएपछि तेस्रो पुस्ता आक्रोशित मात्र भएको छैन, नयाँ सम्भावनाका कारण उत्साहित पनि देखिएको छ।
फागुन २३ को सर्वोच्च अदालतको फैसलाअनुसार एमाले ब्युतिएपछि पनि माधवकुमार नेपाल पक्षमा रहेका यी नेताहरु सोमबारबाट भने ओलीतर्फ मिल्न आएका छन्। एमाले बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा रहेका छन्।
ओलीका कडा आलोचक मानिएका नेताहरू ओलीतिर खुलेपछि उनीहरूको वैचारिक पक्षतालाई लिएर चौतर्फी आलोचनासमेत हुन थालेको छ। यसअघि ओली र नेपाल समूहबिच १० बुंदे सहमति भएको भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपालले उक्त सहमतिलाई अस्वीकार गर्दै आएका थिए। नेपालले सोमबार साँझ १० बुंदे सहमतिको भ्रमजालमा नपर्न आफूनिकट नेता–कार्यकर्तालाई अपीलसमेत गरेका छन्।
एकीकृत समाजवादीले सार्वजनिक गरेको विधानमा १७ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ। मझधारमा उभिएका १० नेताहरू एकीकृत समाजवादीमा उभिएको परिस्थितिमा नेपाल समूहका थोरै मात्र नेताहरूले नेतृत्वमा मौका पाउँथे। तर, पूराना र बुढा नेताहरू ओलीतिरै रहेपछि नेपाल समूहमा युवा पुस्ता र उर्जाशील नेताहरूले अवसर पाउने भएका छन्।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल प्रस्ताव गरिएको छ। त्यस्तै ९५ सदस्यीय केन्द्रीय समितिमा मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा। बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा। विजयकुमार पौडेल, डा। गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी छन्।
त्यसैगरि केन्द्रीय समितिमा विजय गुरूङ, राजेन्द्रकुमार राई, दिलकुमारी पन्त, चुडामणि जंगली, जयन्ती राई, धर्मनाथ साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुवंश झा, गरिमा शाह, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, बलराम बाँस्कोटा, सावित्रा भुसाल, निरादेवी जैरू, प्रेमबहादुर आले लगायतका नेताहरू छन्।
दोस्रो पुस्ताका नेतामा कम्युनिस्ट विचार र आदर्शको रक्षा गर्नेभन्दा पनि आफूले खाइपाइ आएको मन्त्री सांसद पद जोगाउने र भविष्यमा चुनाव जित्ने मात्र स्वार्थ देखिएका कारण उनीहरू एमालेमै रहेको तेस्रो पुस्ताको गुनासो छ। कतिपय त सूर्य चिन्हको पछि लागेर ओलीसामु गलेको तर्क गर्छन्। जेसुकै होस्, दोस्रो पुस्ता आफ्नो स्वार्थका लागि एमालेमै अल्झिँदा तेस्रो पुस्तालाई नेतृत्व विकासका निम्ति बाटो खुलेको हो।
दोस्रो पुस्ताका नेताहरूको ठम्याइमा फुटेर गएको समूह शक्तिशाली बन्न सक्दैन। तसर्थ, उनीहरूले एकीकृत समाजवादी पार्टीमा आफ्नो भविष्य देख्न सकेनन्। भविष्यको रक्षाकै निम्ति उनीहरू जतिसुकै हेपिएर भए पनि एमालेमै बस्ने मनस्थितिमा पुगेका छन्।
तर, प्रस्तावित एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरू बृहत कम्युनिस्ट एकताको पक्षमा उभिने बताएका छन्। मंगलबार मात्रै चन्द्रागिरीमा पत्रकार सम्मेलन गर्दै नेपालले नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थीहरू कमजोर हुने र क्रान्तिकारीहरू विजयी हुने गरेको दावी गरे। आफूहरू क्रान्तिकारी धारा भएकाले छिट्टै शक्तिशाली आन्दोलन बन्ने उनको दावी थियो।
नेपालको पार्टी एक्लै राष्ट्रिय राजनीतिको केन्द्रमा आउला भन्न त सकिँदैन। तर, विचार र समाजवादी गन्तव्य मिल्ने कम्युनिस्ट एवं वामपन्थी घटकहरूसँग सहकार्य र एकता गर्ने मनस्थिति र वस्तुगत अवस्था भएका कारण नेपाल समूहको भविष्य ओलीको भन्दा सुरक्षित नै देखिन्छ। भविष्यमा नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबिच सहकार्य हुँदै एकतासम्म पुग्ने समझदारी भएकाले पनि माधव नेपाल राष्ट्रिय राजनीतिमा फेरि बलशाली हुने देखिन्छ।
माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबिच पार्टी एकता भएमा त्यस्तो विन्दुमा एकताबाट बन्ने पार्टी नै नेपालको सबैभन्दा बलियो वामशक्ति बन्ने निश्चित छ। त्यस्तो परिस्थितिमा अप्ठ्यारोमा माधव नेपाललाई साथ दिएको तेस्रो पुस्ता राजनीतिमा चम्किने सम्भावनालाई नकार्न सकिन्न ।





