एउटै पार्टी बनाउँदै प्रचण्ड र बाबुराम, माधव नेपाललाई पनि अटाउने तयारी !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राजनीतिको कठिन घडीहरु एउटै पार्टीमा बिताए । दश वर्ष सशस्त्र जनयुद्ध गर्दा प्रचण्ड माओवादीको पहिलो नम्बरका नेता थिए भने बाबुराम दोस्रो ।

त्यतिबेला प्रचण्ड सांगठनिक खुबी भएका मानिन्थे । बाबुराम कुशल रणनीतिकार थिए । दुवैको समन्वयबाट जनयुद्ध हुँदै माओवादीले सुरक्षित राजनीतिक अवतरण गर्यो । माओवादी चाहे जस्तो गणतन्त्र र धर्मनीरपेक्षता पनि स्थापित भयो ।

माओवादी शान्तिपूर्ण राजनीतिम मूलधारमा आएपछि पहिलो संविधान सभा निर्वाचनमा महत्वपूर्ण सफलता हासिल गरेको थियो । त्यसमा पनि प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिले मुख्य काम गरेको थियो । दुवै देशको प्रधानमन्त्री बन्न सफल भएका थिए ।

माओवादी सत्तामा पुगेपछि भने प्रचण्ड र बाबुरामबीच दुरी बढ्यो । दुवैबीचको टकरावले बाबुराम पार्टी छाडेर गए । उनले कम्युनिस्ट सिद्धान्त नै त्यागेर समाजवादी विचारधारा अँगिकार गरे । नयाँ शक्ति पार्टी स्थापना गरे । तर, पछि संघीय समाजवादी पार्टीसँग एकता गरे । त्यसबीच प्रचण्ड पनि एमालेसँग एकता गर्न पुगे ।

सशस्त्र जनयुद्धका सहयात्री प्रचण्ड र बाबुराम अलग अलग बाटो हुँदै निकै टाढा पुगे । तर, प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले प्रचण्ड र बाबुरामलाई नजिक ल्यायो । माओवादी पुनः ब्युँतियो । जनता समाजवादी पार्टीभित्र पनि उपेन्द्र यादव र महन्थ ठाकुरको टकरावले विभाजनको अवस्थासम्म पुग्यो ।

प्रतिनिधि सभा विघटनको विरुद्ध बनेको गठबन्धनमा प्रचण्ड र बाबुराम सामेल भए । बाबुरामको रणनीतिले फेरि काम गर्यो । उनीहरु भविष्यको लामो यात्राका लागि परिस्थिति निर्माणमा जुटेका छन् । आगामी निर्वाचनमा गठबन्धन बनाएर जानेसम्मको तयारी भइरहेको छ । जसमा प्रचण्ड र बाबुराम एक ठाउँमा हुन सक्ने देखिएको छ ।

आमनिर्वाचन आउन झण्डै डेढ वर्ष बाँकी छ । तर, अग्रिम तयारी भइरहेको छ । अबको चुनावमा गठबन्धन या एउटै दल बनाएर जानेबारे छलफल बढिसकेको छ । प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको शक्ति एकजुट हुने गरी पहल भइरहेको छ । समाजवादी पार्टी बनाएर जाने गरी छलफल बढेको हो ।

त्यो सफल भएमा प्रचण्ड र बाबुराम एउटै पार्टीमा रहने परिस्थित हुन सक्छ । राजनीतिक सम्भावनाले जसरी छुट्टिएर टाढिइसकेका प्रचण्ड र बाबुरामलाई गठबन्धनमा ल्याइपुर्याएको छ त्यसरी नै एउटै पार्टीमा रहने अवस्था नल्याउला भन्न सकिदैन ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार