माओवादीले पनि मलाई नै भोट हाल्छन् : बादल !



हेटौंडा । राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएकाले जित सुनिश्चित रहेको बताएका छन् । बिहीबार हेटौंडामा बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा थापालाई एमालेले उम्मेदवार बनाएको छ ।

बुधबार दिउँसो हेटौंडा आएका थापाले आफू एमालेको आधिकारिक उम्मेदवार भएकाले एमालेका सबै मतदाताले आफूलाई भोट दिने दाबी गरे। ‘म एमालेको आधिकारिक उम्मेदवार हुँ। एमालेको सबै भोट मलाई आउँछ। मेरो जित सुनिश्चित छ,’ थापाले भने । थापासँगै प्रतिस्पर्धामा नेकपा एमालेकै माधव नेपाल पक्षका डा. खिमलाल देवकोटा पनि छन् ।

देवकोटालाई समर्थन गरेको कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नै भोट नआउने थापाले बताए। ‘कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैन। साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ । त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ,’ थापाले भने।

गृहमन्त्री थापाले एमालेको एकल बहुमत रहेको आफू जितप्रति ढुक्क रहेको प्रतिक्रिया दिए। उनले माधव नेपालसँग उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेको भन्दै नेपालबाट पनि सहयोग पाउने बताए । ‘माधवजीसँग कुराकानी भएको छ । उहाँले सहयोग गर्ने बताउनु भएको छ,’ उनले भने ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार