विद्या भण्डारीबारे ओलीले भने: उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्कन चाहन्छिन् भने विधिवत् रूपमा सदस्यता निवेदन दिनुपर्ने बताएका छन्।

आइतबार भृकुटीमण्डपमा जारी एमालेको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रश्नको जवाफ दिँदै सेरेमोनियल पद सम्मानित र निर्विवादित हुनुपर्ने बताए। राष्ट्रको अभिभावकको भूमिकामा बसेको व्यक्ति पुनः राजनीतिमा आएर आलोचना र विवादको घेरामा पर्नु उपयुक्त नहुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले भण्डारीलाई ‘राष्ट्रको नायक’को संज्ञा दिँदै बीचमै सदस्यता जोड्नु कानुनसँग खेलबाड हुने भएकाले आफूले रोकेको दाबी गरे। “हामीले कसैलाई घृणा गरेर वा मन नपरेर सदस्यता छेकेको होइन,” उनले भने, “राजनीति गर्न चाहनुहुन्छ भने पार्टीमा निवेदन दिनुपर्छ, कसैले रोकेको छैन।”

उनले मदन भण्डारी फाउन्डेसनको नाममा कार्यालय खोलेर भण्डारी एकपक्षीय र मनोमानी ढंगले अगाडि बढेको दाबीसमेत गरे। यद्यपि, भण्डारीप्रति पार्टीले सधैं सम्मान र माया नै गरेको ओलीले जिकिर गरे।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार