मलेसियाबाट अब सिधै भैरहवा, हिमालयको दैनिक उडान
काठमाडौँ — हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाको क्वालालम्पुर चार्टर उडान थाल्ने भएको छ । कम्पनीले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो चिनियाँ र यति एयरलायन्सको लगानी भएको हिमालय एयरलायन्सले बिहीबारदेखि भैरहवाबाट मेलेसिया उडान गर्ने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ८ वटा चार्टर उडानको अनुमति दिएको हो । ‘हिमालयले नियमित उडानमा जानुअघि भैरहवाबाट चार्टर उडानका लागि आज (मंगलबार) अनुमति मागेको थियो,’ प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने,‘उसलाई प्राधिकरणले बिहीबारदेखि नै उडान गर्न अनुमति दिएको छ ।’
प्राधिकरणका अनुसार हिमालयले कात्तिक १७ गतेदेखि २४ गतेसम्म दैनिक एउटा उडान गर्नेछ । मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यवसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टरकै अनुमति लिई मलेसिया उडान गर्नेछ ।
हिमालयको काठमाडौंबाट मलेसियाको क्वालालमपुर लागि उडेको जहाज भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु लिएर पुन: मलेसिया पुगेर त्यही जहाज काठमाडौं फर्किने अनुमति छ । यसका लागि हिमालयले दुई सेट चालकदल राख्नुपर्ने छ । जसमध्ये एक सेट पहिल्यै मलेसियामा रहनेछ ।





