शून्य लागतमा नेपालमै श्रमिक लिन आयो मलेसियाको टप कम्पनी, कति गए कति जाँदै..



शून्य लागतमा नेपालमै श्रमिक लिन आयो मलेसियाको टप कम्पनी, कति गए कति जाँदै..

काठमाडौं। मलेसियाको प्रसिद्ध कम्पनी विस्ट्रोन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ। सूचना प्रविधि (आइटी) क्षेत्रमा स्थापित यो बहुराष्ट्रिय कम्पनी हो।

मंगलबार काठमाडौंमा कार्यक्रम गरेर यो कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने घोषणा गरेको हो। त्यसका लागि कम्पनीले यहाँका आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनल (म्यानपावर कम्पनी) हरूसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन्।

पहिलो चरणमा ३१५ महिला र १३५ पुरुष गरी ४५० नेपाली श्रमिक लैजान थालेको डेपुटी जनरल म्यानेजर डेभिडले जानकारी दिए।
ती मध्ये आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष गरी २०० जनाको कोटा तोकिएको छ। यस्तै लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष गरी जम्मा २५० जना जानेछन्।

नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौं आएको हो। बुधबार र बिहीबार श्रमिक छनोटका लागि फाइनल अन्तर्वार्ता तोकिएको छ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने डेपुटी जनरल म्यानेजर डेभिडले बताए।म्यानजर डेभिडले पत्रकारसँग कुरा गर्दै कम्पनी आकर्षक भएको दावी गरे। आफ्नो कम्पनीमा श्रमिकलाई कुनैखाले भेदभाव नहुने उनको भनाइ छ।

‘हाम्रो कम्पनी बहुराष्ट्रिय कम्पनी हो। यहाँ राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकलाई भेदभाव हुँदैन। मलेसियन होस्, या नेपाली सबैलाई एउटै व्यवहार हुनेछ,’ उनले भने।

कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा पनि आफ्नो कम्पनी सचेत रहेको उनले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार