माधव समूह कायर रहेछ, दासत्व स्वीकार गरे : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेको माधव नेपाल समूहले दासत्व स्वीकारेको टिप्पणी गरेका छन् । ट्वीटमार्फत नेता पौडेलले सार्वजनिक मञ्चमा मूल्य मान्यताको फुइँ लगाएपनि अन्ततः कायरता प्रस्तुत भएको बताएका हुन् ।

‘हिम्मत नभएका असहायहरूले स्वीकार्ने दासत्व नै हो, सार्वजनिक मूल्य मान्यताका फुइँ लगाउने, गुलामी नै राजनीति देख्ने कायरहरुले फेरि प्रमाणित गरिदिए, कायरहरू सधैँ दास नै हुन लायक छन् । उनीहरू स्वतन्त्रता, लोकतन्त्र र राजनीतिक मर्यादा बुझ्दैनन्’, पौडेलले भनेका छन् ।

फेसबुकमार्फत अर्को स्टाटसमा नेता पौडेलले गठबन्धन सरकारका लागि अंकगणित नपुग्नुलाई कांग्रेसको हारका रुपमा मान्न नसकिने बताएका छन् । कांग्रेसको लडाइँ सधैँ विवेकपूर्ण र संयमित हुने भएकाले सरकारमा नजाँदैमा हारेको अर्थमा नबुझ्न पौडेलले आग्रह गरेका हुन् ।

‘नेतृत्व लिनुपर्ने स्थिति आयो हामीले पहल गर्‍यौं । परिस्थिति फरक बन्यो जसपा र माधव नेपाल समूहले कुनै हिम्मत देखाउन सकेनन् । हामी लोकतान्त्रिक मूल्य मान्यताका आधारमा अघि बढिरहेका छौं । हामीसँग राजनीतिक संस्कार छ । लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं’, पौडेलले भनेका छन् ।

उनले जनताले ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएको भए पनि कम्युनिष्ट पार्टीभित्रको अराजनीतिक, अलोकतान्त्रिक र मर्यादाहीन लुछाचुँडीले गर्दा वैकल्पिक सरकारको लागि पहल गर्नुपरेको बताएका छन् । जनताले दिएको विश्वास कम्युनिष्टहरूले गुमाइसकेको भन्दै नेता पौडेलले सबैतिर असफल भइसकेको सरकारको विकल्प खोज्न सरकारले प्रयास गर्नु अन्यथा नभएको दावी गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार