
काठमाडौं | तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा मृत्यु भएको २८ वर्ष पुगेको छ । मदन आश्रितको २०५०जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनीहरु सवार गाडी त्रिशुलीमा खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
एमालेले उक्त दुर्घटनालाई रहस्यमय हत्या भन्दै देशव्यापी आन्दोलन गर्यो । दर्जनौंको ज्यान गयो । सार्वजनिक सम्पत्तिको तोडफोड भयो । एमालेले दासढुंगा घटनालाई राजनीतिक ईस्यू बनायो । चुनावी एजेण्डा बनायो । दासढुंगा घटनालाई रहस्यमय दुर्घटना भन्ने एमाले त्यसपछिका वर्षमा निरन्तर सत्तामा छ । आफ्नो सरकार बने एक हप्तामै हत्यारा पत्ता लगाउने दावी गर्ने केपी शर्मा ओली दुर्घटनाकै अर्काे वर्ष मन्त्री बने । उनको नेतृत्वमा कार्यदल बन्यो । न उनले कुनै अध्ययन गरे, न प्रतिवेदन दिए । तर पनि आजसम्म पनि एमालेका शीर्ष नेतादेखि कार्यकर्तासम्मले दासढुंगाा दुर्घटना नभई हत्या भएको भन्न छोडेका छैनन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मदनपत्नी राष्ट्रपति र मदनका उत्तराधिकारी दावी गर्ने ओली शक्तिशाली प्रधानमन्त्री भएकाले उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न सुझाव दिएका छन् । भट्टराईले दासढुंगा घटनाको अन्तिम निर्क्यौल गर्न पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं ।’
अच्चम त के छ भने ओली तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् भने राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । तर दुबै जनाले अहिलेसम्म मदन आश्रित दुर्घटनाबारे अनुसन्धान गर्न कुनै चासो दिएको पाइँदैन । जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले दासढृुंगा दुर्घटनाबारे राष्ट्रपति र प्रधानमन्त्रीलाई छानविन गर्न आग्रह गरेका हुन् ।
२०५०जेठ३गते दासढंुगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाॅहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं! pic.twitter.com/FLWKb1bqSi
— Baburam Bhattarai (@brb1954) May 17, 2021