अब सम्पूर्ण नेपालीले हात मिलाउन र अंगालाे मार्न अस्वीकार गरौं



काठमाडौं । नेपालमा पनि कुनैपनि बेला कोरोना अर्थात् कोभिड १९ भाइरस फैलन सक्छ । यसका लागि नागरिक स्तरबाट सावधानी अपनाउनुपर्ने भएको छ । चीनबाट सुरु भएको कोभिड १९ भाइरस विश्वव्यापी फैलन थालेको छ । विश्वका ३० देशमा कोरोना फैलिसकेको छ । कोरोनाले इरान, दक्षिण कोरिया र इटलीलाई पनि सिकिस्त बनाएको छ । यो भाइरस चीनमा नियन्त्रण हुन थाले पनि विश्वका अन्य देशमा फैलिरहेको छ । खासगरी नेपालीहरु काम गर्न जाने दक्षिण कोरिया, ओमन र कुवेतमा पनि कोरोना देखा परेको छ ।

ती मुलुकहरुमा कोरोना फैलिएपछि नेपालमा पनि कुनै पनि बेला देखा पर्ने खतरालाई इन्कार गर्न सकिन्न । हात साबुन पानीले धुनैपर्छ । नेपालमा कोरोना भित्रन नदिन तथा भित्रिएको अवस्थामा पनि फैलन नदिन अरु के गर्ने ? यसका लागि तीनवटा अभियान चलाउनुपर्छ । हात मिलाउने चलन हटाउन नागरिक स्तरबाट अभियान नै चलाउनु पर्छ । हात मिलाउने चलन पुरुषमा धेरै छ । यो चलन नेपाली महिलामा पनि फैलँदै छ । हात मिलाउने भन्दा खतरनाक छ हग गर्ने अर्थात् अंगालो मार्ने चलन । यो चलन चाहिँ महिलामा धेरै देखिन्छ ।

हात मिलाउने र हग गर्ने चलनलाई निरन्तरता दिइयो, हटाउन सकिएन भने कोरोनाबाट खतरा हुन्छ । त्यसबाहेक भविष्यमा आउनसक्ने अन्य खालका महामारीलाई पनि हात मिलाउने र हग गर्ने चलनले सघाउँछ । त्यसैले हात मिलाउने र अंगालो मार्ने (हग गर्ने) चलन हटाऔं । कोरोनाबाट बच्ने अर्काे उपाय भनेको सुरक्षित तरिकाले मास्क लगाउने हो । सबैले मास्क लगाउन थालौं ।

निम्न तीन अभियान आजैबाट थालौं–

१) हात नमिलाउने
२) हग नगर्ने
३) मास्क लगाउने

आजैबाट भनौं– म पनि हात मिलाउँदिन, तपाईं पनि नमिलाउनुहोस् । म पनि हग गर्दिन, तपाईं पनि नगर्नुहोस् । हग गर्न र हात मिलाउन अस्वीकार गरौं । कोरोनाबाट बचौं ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार