काठमाडौं । पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । संक्रमण देखिएसँगै २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित तीनै जना अस्पताल भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।
महामारी नियन्त्रणमा सबै सामर्थ्य लगाउँछौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् । ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।
प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवाभावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।
महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमितता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए । प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुद्धकाे खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड-१९ को प्रभाव न्यूनीकरणका लागि सहयोग गर्ने बताए ।