को को बन्लान् मन्त्री !



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सपथ लिदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओली फेरि प्रधानमन्त्री नियुक्त भएपछि मन्त्रीहरुले पनि पुनः सपथ लिनुपर्नेछ । ओलीले एमालेको माधव नेपाल पक्षधर र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधरलाइ पनि समेटेर मन्त्रिमण्डल बनाउने पहल गरिरहेका छन् ।

ओलीलाई फेरि प्रधानमन्त्री बन्न ठाकुर समूहको महत्वपूर्ण भुमिका खेलेको थियो । तटस्थ बसेर ओलीलाई फाइदा पुग्यो । ठाकुर समूह सरकारमा सहभागी भएमा राजेन्द्र महतो, शरतसिंह भण्डारी र चन्दा चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ । तर, ठाकुरले सरकारमा जानेमा सकारात्मक संकेत गरेका छैनन् । महतो भने सरकारमा जाने पक्षमा छन् । एमालेको माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्टलाई ओलीले मन्त्री बनाउन खोजेका छन् । तर, माधव नेपालले आफ्नो पक्ष तत्काल सरकारमा नजाने जवाफ दिएका छन् ।

पाण्डे, बिष्ट र भट्टराईले एमालेको एकता जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए । इश्वर पोखरेल उपप्रधानमन्त्री नै रहनेछन् भने गृहमन्त्रीमा बादल र अर्थमन्त्रीमा विष्णु पौडेल नै रहनेछन् । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने बुझिएको छ । केहीले पुनः मन्त्री बन्न पाउनेछैनन् । नेपाल समूह छाडेर ओली समूहमा पुगेका शेरबहादुर तामाङ, लालबाबु पण्डित, कृष्णभक्त पोखरेललगायतले पनि मौका पाउने सम्भावना छ । वसन्त नेम्वाङ, पद्मा अर्याल, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरीलगायतले पुनः मौका पाउने बुझिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार