
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । ओलीले नेपाललाई टेलिफोन संवादमामार्फत भेटवार्ताको आग्रह गर्नुभएको हो । स्रोतका अनुसार ओलीको प्रस्तावमा नेता नेपाल सहमति हुनुभएको छ । आन्तरिक छलफलपछि नेता नेपालले ओलीलाई भेट्ने बताइएको छ । अहिलेसम्म भेटको समय र ठाउँ तय नभएको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि आह्वान गरेको समय आज सकिदैछ । माधव समूहले ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने हल्ला चलिरहेको बेला ओलीले नेपाल समूहसँग छलफललाई तीब्रता दिनुभएको हो । यसअघि ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित चार नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।
माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवा
नेकपा एमालेले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवा गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले पार्टीको एकताका लागि बिगतको सवै कुरालाई बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै निलम्वन फुकुवा गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो । त्यस्तै आफ्नै सरकार ढालेर बिपक्षीहरुको सरकार बनाउने र त्यसका निम्ती मुख्य कारक बन्न बाटोमा नहिड्न आह्वान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा र अन्य बिषयमा आवश्यक निर्णय गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको उहाले बताउनुभयो । उहाले दुई भन्दा बढि दलको सरकार भन्दा पनि राष्ट्रिय हितका लागि एमालेकै नेतृत्वमा सरकार बनाउन जोड रहेको धारणा राख्नुभयो । एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।