गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त , जनमाेर्चाका २ सांसद तटस्थ बस्दा कांग्रेसलाई झड्का !



पोखरा । पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए । तर राष्ट्रिय जनमोर्चाका सांसदहरु थापा र शाहीले तटस्थ रहने भनेपछि पोखरेलको पक्षमा जम्मा २९ सांसदको मात्र समर्गन रहन्छ, जुन प्रदेशसभामा बहुमत भन्दा कम संख्या हो ।

प्रदेश प्रमुख कार्यालयले पोखरेलको दावीमाथि अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ । ‘कृष्णचन्द्रलाई मुख्यमन्त्री दाबी गर्दै फाइल दर्ता भएको छ । तर, उहाँको बहुमतबारे अध्ययन भइरहेको छ । प्रदेश प्रमुखले परामर्श लिइरहनुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले भने, ‘बहुमत नदेखिए केहीबेरमै अर्को प्रक्रिया सुरु हुन्छ ।’

संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्‍याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा हालै राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्ति नियुक्त गरेकी हुन् । विपक्षी दलले भने एक महिनाभित्र विश्वासको मत लिँदा प्रदेशसभामा बहुमत पुर्‍याउने दावी गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार