जसपा गम्भीर मोडमा, सत्ताकै कारण फुट्ने संकेत !



नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन् ।

यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ । आन्दोलनको क्रममा लागेकाको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायत सवालमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।

ठाकुरले अहिलेको अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावनाविरोधी काम भएको समेत उल्लेख गरेका छन् । उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेको समेत बताएका छन् । मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागी हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको उनको ठहर छ । उनले सरकारमा सहभागी हुँदा झन् अस्थिरता हुने र एजेण्डा सम्बोधनको कार्य अनिश्चिततातर्फ धकेलिने स्पष्ट पारेका छन् ।

जसपाकै संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई बिदा गरेर वैकल्पिक सरकार गठनमा खुलेर लागेको छन् । ठाकुरको वक्तव्यअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त पत्र लेखेर संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

राष्ट्रपतिबाट त्यहीअनुसारको आह्वान भएको छ । अब दुई वा दुईभन्दा बढी दलको बहुमतमा सरकार बनाउन वैशाख ३० गते राति ९ बजेसम्मको समयसीमा छ ।

मंगलबार कांग्रेस सभापति देउवा, माओवादीका अध्यक्ष दाहाल र जसपाका नेता यादव वैकल्पिक सरकार बनाउने अभियानमा लागिरहे । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा पनि जसपा विभाजित देखियो । ठाकुर–महतो पक्षका १५ सांसद तटस्थ रहे । भट्टराई–यादव खेमाका १५ सांसदले विपक्षमा मतदान गरे । ठाकुर र यादवका मन्तव्य पनि त्यहीअनुसार आएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार