
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिने अन्तिम तयारीमा जुटेका छन् । कतिपय सांसदहरुले नेता नेपाललाई राजीनामा दिनेगरि हस्ताक्षर बुझाएका छन् । नेता नेपालसहित उनी पक्षधर सांसदहरु यतिवेला सिंहदरबारमा छन् । राजीनामा दिनेगरि सिंहदरबार पुगेका नेता नेपालसँग अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका दूतका रुपमा नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेटवार्ता गरेका थिए । तर, उनीहरुसँगको भेटवार्तामा ठोस सहमति भएन ।
प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने भएका छन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । तर, नेपाल पक्षका केही सांसदहरु भने राजीनामा दिँदैमा समस्याको समाधान नहुने भन्दै एकपटक अध्यक्ष ओलीसँग निर्णायक वार्ताको तयारी गर्नुपर्ने पक्षमा उभिएका छन् । नेता तथा सांसद सुरेन्द्र पाण्डेले पनि आफू राजीनामा दिने पक्षमा नरहेको सुनाए ।
उनले भने,‘म व्यक्तिगत रुपमा राजीनामा दिने पक्षमा छैन् । यसले समस्याको समाधान हुँदैन् । म त वास्तवमा अहिले पनि राजीनामा दिनुहुन्न पक्षको मान्छे हुँ । हिजोको बैठकमा म विरामी भएको कारण जान पाईनँ । तर, हाम्रो साथीहरुले सामूहिक रुपमा राजीनामा दिँदा मैले पनि त्यसमा विचार गर्नुपर्ने हुन्छ, टिम स्पिरिटको कुरा गर्दा राजीनामा त दिनैपर्यो । तर, यसले समस्याको समाधान हुँदैन् । तर म टिमले गरेको निर्णयलाई आत्मसात् गर्छु ।’