काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् । अखिल भारत नेपाली एकता समाजले गरेको कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नालायकी र प्रतिगमनतर्फको कदमका कारण उनलाई हटाउनुको विकल्प नरहेको बताएका हुन् ।
‘यो सरकार कोरोना नियन्त्रणमा मात्रै नालायक भएको होइन देशमा राजनीतिक निकास दिन समेत नालायक बनिसकेको छ । निरन्तर प्रतिगमनको यात्रातर्फ अघि बढेको ओली नेतृत्वको सरकार विस्थापन नै समाधान हो,’ उनले भने । प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन आफूले निरन्तर विपक्षी गठबन्धनसँग छलफल गरिरहेको समेत उनले बताए । सोमबार विश्वासको मत ओलीले नपाउने र नयाँ सरकार गठन हुने समेत बताए ।
ओली बहिर्गमनको नीति तय गर्यौँ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन् । पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि डा भट्टराईले सामाजिक सञ्जालमर्फत प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन् ‘सबैले आ आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’ भट्टराई र उपेन्द्र यादव पक्ष जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन्।