गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । नेकपा एमाले संसदीय दलको बैठकपछि गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । त्यस अगाडी नै उनले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुखद्वारा पृथ्वीसुब्बाको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न ३ दिनको समय
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् ।
यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार