भीम रावलको टिप्पणी, ‘प्रधानमन्त्री ओलीको घृणित राजनीतिले देश संकटग्रस्त’



काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घृणित राजनीति गरेको आरोप लगाएका छन्। रावलले बिहीबार ट्वीटमार्फत एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको समाचार बाहिरिएपछि उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, दलका उपनेता नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल देउवा निवास पुगेका थिए। छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

उनले प्रधानमन्त्रीको घृणित राजनीतिले देश संकटग्रस्त भएको धारणा राखेका छन्। प्रधानमन्त्री केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।’ उनले लेखेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।’

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार