ओलीले मागे कांग्रेससँग विश्वासको मत, देउवाको जवाफ- दिँदैनौं



नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत दिन भनेका थिए । तर सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए । छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत थिए ।

छलफल सकेपछि पत्रकारहरूसँगको कुराकानीमा सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको बताए । तर सहयोग गर्न नसकिने जवाफ दिइएको उनको भनाइ छ।विश्वासको मत दिन प्रधानमन्त्रीले आग्रह गरे पनि सरकारले असंवैधानिक काम गरेकोले समर्थन गर्न नसकिने कांग्रेसको भनाइ थियो । आफूहरू विपक्षी पार्टी भएकोले पनि समर्थन गर्न नसक्ने सभापति देउवाले बताएको महत बताउँछन्।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा राख्नुभएको छ । त्यसमा सहयोग गर्न नसक्ने स्पष्ट कुरा हामीले राख्यौं,’ महतले भने, ‘तपाईंलाई विश्वासको मत दिन सक्ने अवस्था छैन । सत्ता साझेदारी हामीले गर्न सक्ने अवस्था छैन। यो सम्भव छैन ।’ उक्त बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससँग सहकार्य प्रस्ताव पनि राखेका थिए । लामो समयदेखि कांग्रेस र एमाले लोकतन्त्रका लागि सँगै लड्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यताका लागि सहकार्य गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार