
काठमाडौं । संविधानविद् डा.भीमार्जुन आचार्यले समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढि श्रेयस्कर हुने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले मुलुकको राजनीतिप्रति गम्भीर बन्न र सरकारको असंवेदनशील रबैयाको साक्षी नबन्न आग्रह गर्दै आआफ्नो तरिकाले आवाज उठाउन आग्रह गरेका छन् । मुलुक नयाँ रोगबाट संक्रमित भएको अवस्थामा समेत मुलुकको राजनीतिक नेतृत्व संवेदनशील बन्न नसकेको डा. आचार्यको टिप्पणी छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको पहुँचबाट समेत बञ्चित छन। यस्तो भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील हुनु त कता हो कता एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ।
र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने छुट राज्यसञ्चालकलाई लोकतन्त्रमा हुदैन । समाज र मुलुकको पवित्रताका लागि कुनै पनि मूल्य नभएको वा नैतिकता शून्य राजनीति वा नेतृत्व हुनु भन्दा त्यस्तो राजनीति अस्तित्व मै नहुनु बढी श्रेयस्कर हुन्छ। यसबारेमा गम्भीर बनौँ । सरकारको असंवेदनशील रबैयाको साक्षी नबसौ। आआफ्नो तरीकाले आवाज उठाऔं ।
मुलुक कोभिडबाट पुरै सङ्क्रमित छ। गरीब, असहाय,राजनीतिक शक्तिमा पहुँच नभएका जनता अति आवश्यकीय स्वास्थ्य सेवा र अस्पतालको…
Posted by Bhimarjun Acharya on Thursday, April 29, 2021