बरु सत्ता राजालाई बुझाउँछन्, तर ओली झुक्दैनन्ः कँडेल



काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले संघीयता खारेज गरेर राजालाई राष्ट्रको नेतृत्व दिन प्रधानमन्त्री केपी ओली तयार रहेको तर विदेशी शक्तिहरूसँग ओली नझुक्ने दाबी गरेका छन् । प्रधानमन्त्री अ‍ोलीको खुलेर प्रसंशा गर्दै आएको कँडेलले ओली आवश्यक परे राजालाई सत्ता जिम्मा लगाउनसक्ने तर विदेशी शक्तिसँग नझुक्ने दाबी गरेका हुन् । उनले अमेरिकी संस्था एमसीसीसँगको सम्झौता संसदबाट फेल गराउने ओलीको इच्छा भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्नि सापकोटाको कारण असफल भएको जिकिर गरे ।

कँडेलले भने, ‘अमेरिका, भारत सबैले बुझे हुन्छ । नाफाको जीवन बाँचिरहनुभएका ओली अब कसैसँग झुकेर काम गर्नुहुन्न् । आफूलाई खुट्टा तानेर झार्ने अवस्था आयो भने संघीय गणतन्त्र खारेज गरेर राजालाई जसरी हटाइएको थियो, त्यसरी नै फिर्ता गराएर गद्दीमा राखेर छोड्ने काम ओलीले गर्नुहुन्छ ।’ विदेशीको एजेण्डाअनुसार राजा हटाउने काम भएको भन्दै उनले संसद पुनःस्थापनाको माग गरेर एकताको प्रतिक राजसंस्थालाई मास्ने काम गरिएको सुनाए । कँडेलले ओली कुनै पनि विदेशी शक्तिसँग नझुक्दिए हुन्थ्यो भन्ने आफ्नो पनि चाहना रहेको भन्दै ओलीसँग भारतले पनि गेम खेल्न बन्द गरे हुन्छ भने ।

उनले मदन भण्डारी मरेर गए पनि देश र जनताले सम्झिरहेको उदाहरण दिँदै ओली पनि आवश्यक परे गोली थाप्न तयार हुनुपर्ने तर्क गरे । यद्यपि कुटनीतिकरुपमा सबै विदेशी शक्तिसँग वार्ता गरेर उनीहरूसँग सम्वन्ध सुमधुर बनाउने प्रयास गरे पनि ओली झुक्न चाहीं नसक्ने कँडेलको तर्क छ । आफू परे स्याङ्जा फर्किन तयार रहेको तर ओलीको पक्षमा बोल्न नछोड्ने कँडेलले बताए । उनले समस्त नेपालीको चाहना पनि संघीयता खारेज होस र राजासहितको प्रजातन्त्र नेपालमा होस, देशमा विकास र शान्ति होस भन्ने रहेको बताए ।

ओली बरु संकटकाल लगाउन, संसद विघटन गरेर चुनाव जान, जनमत संग्रह गर्न तयार हुन्छन् तर कुनै पनि शक्तिसँग झुक्दैनन् भन्दै कँडेलले ओलीको अडान र नीतिका कारण उनका विरोधीहरू हैरान र शिथिल भइसकेको बताए । Source : कर्पोरेट नेपाल

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार